वेस्ट इण्डिज आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ।
बिहीबार बिहान न्युजिल्याण्डलाई पराजित गर्दै समूह चरणको एक खेल बाँकी छँदै वेस्ट इण्डिजले अन्तिम आठमा स्थान पक्का गरेको हो।
वेस्ट इण्डिजले लगातार तेस्रो जित निकाल्ने क्रममा न्युजिल्याण्ड १३ रनले पराजित भयो।
वेस्ट इण्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो।
त्यस क्रममा ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए। उनले ३३ बलमा ३ चौका र २ छक्का हाने।
ओपनर फिन एलेनले २३ बलमा ३ चौका र १ छक्का हानेर २६ रन जोडे।
मिचेल सान्टनर १२ बलमा ३ छक्का प्रहार गरी २१ रन बनाएर नट आउट रहे। अन्य ब्याटरले सन्तोषपूर्ण प्रदर्शन गर्न सकेनन्।
कप्तान केन विलियमसन १ रनमै आउट हुँदा ओपनर डेभन कनवे ५ रनमा, ट्रेन्ट बोल्ट ७ रनमा, रचिन रविन्द्र १० रनमा, ड्यारिल मिचेल १२ रनमा, जेम्स निशम १० रनमा आउट भए।
बलिङतर्फ अल्जारी जोशेफले ४, गुणकेश मोतीले ३ तथा अकिल हुसेन र आन्द्रे रसेलले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ९ विकेट गुमाएर १४९ रन बनाएको हो।
त्यस क्रममा सर्फेन रथफोर्ड ६८ रन बनाएर नट आउट रहे। उनले ३९ बलमा २ चौका र ६ छक्का प्रहार गरे।
अन्य ब्याटरहरू सस्तोमै आउट भएका थिए।
ब्रान्डन किङ ९ रनमा, जोनसन चार्ल्स र रोस्टन चेस शून्यमा, अल्जारी जोशेफ ६ रनमा र कप्तान रोवमन पवेल एक रनमा आउट भए।
निकोलस पुरनले १२ बलमा ३ चौका हानेर १७ रन बनाए।
अकिल होसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो शेफर्डले १३ रन जोडे।
बलिङतर्फ ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्गुशनले २/२ तथा जेम्स निशम र मिचेल सान्टनरले १/१ विकेट लिए।
समूह ‘बी’मा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको वेस्ट इण्डिजले अब अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ।
अफगानिस्तान ४ अंकसहित दोस्रो स्थानमा छ। उसले अब वेस्ट इण्डिज र पपुवा न्युगिनीसँग खेल्नेछ।
न्युजिल्याण्डले अब युगान्डा र पपुवा न्युगिनीसँग खेल्न बाँकी छ। पहिलो खेल अफगानिस्तानसँग हारेको न्युजिल्याण्ड अंकबिहीन हुँदै पुछारमा छ।
वेस्ट इण्डिजबाहेकका टिमको खेलबाट अन्तिम आठमा जाने अर्को टिमको टुंगो लाग्नेछ।