आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेशले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।
गएराति सेन्ट भिन्सेन्टमा भएको समूहको तेस्रो खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ८ विकेट गुमाएर १३४ रनमात्रै बनायो।
नेदरल्याण्ड्सका लागि सिब्रान्ड एंगलब्रेक्टले बनाएको ३३ रन सर्वाधिक रह्यो। उनले २२ बलमा ३ चौका र १ छक्का हाने।
विक्रमजित सिंहले १६ बलमा ३ छक्कासहित २६ रन बनाए।
कप्तान स्कट एडवार्ड्सले २३ बलमा ३ चौका प्रहार गरी २५ रन जोडे।
माइकल लेभिटे १८, म्याक्स ओडुडले १२ र आर्यन दतले नट आउट १५ रनको योगदान गरे।
बलिङतर्फ बंगलादेशका रिशद हुसेनले ३, टास्किन अहमदले २ तथा मुस्तफिजुर रहमान, तान्जिम हसन साकिब र महमुदउल्लाहले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको बंगलादेशले ५ विकेट गुमाएर १५९ रन बनाएको थियो।
त्यस क्रममा शाकिब अल हसनले अर्धशतक हाने। उनी ४६ बलमा ९ चौका प्रहार गरी ६४ रन बनाउँदै नट आउट रहे।
जाकर अलीले नट आउट १४ रन जोडे।
त्यसअघि ओपनर तान्जिद हसनले २६ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाएका थिए।
महमुदउल्लाहले २१ बलमा २ चौका र २ छक्का प्रहार गरी २५ रनको योगदान गरे।
बलिङतर्फ नेदरल्याण्ड्सका आर्यन दत र पउल भ्यान मिकिरेनले २/२ तथा टिम प्रिंगलले १ विकेट लिए।
जितसँगै बंगलादेशले तीन खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको छ। नेदरल्याण्ड तीन खेलमध्ये एक जित निकालेर २ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाल र श्रीलंका चौथो र पाचौं स्थानमा छ।
तीनमा तीनै खेल जितेर दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदै अन्तिम आठ प्रवेश गरिसकेको छ।
अब नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ।
नेदरल्याण्ड्सले श्रीलंकासँग खेल्नेछ।