आइसिसी टी-२० विश्वकपमा बंगालदेशविरूद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ।
सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले १८ औं ओभर सकिँदा बंगलादेशको ९ विकेट लिएको छ।
नेपालका लागि सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएका थिए। उनले बंगलादेशका ओपनर तान्जिड हसनलाई आउट गरे।
लगत्तै दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नेपालका लागि दोस्रो विकेट लिए। दोस्रो ओभरको तेस्रो बलमा उनले बंगलादेशका कप्तान नजमुल हुसेन सान्तोलाई बोल्ड गरे।
नेपालले ४.३ ओभरमा तेस्रो विकेट लियो। सोमपाल कामीले लिटन दासलाई आसिफ शेखबाट क्याच आउट गराए।
५.४ ओभरमा चौथो विकेट कप्तान रोहित पौडेलले लिए। उनले बंगलादेशका टोहिड हृदोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराए।
८.६ ओभरमा बंगलादेशका महमुदउल्लाह सन्दीप लामिछानेको बलिङमा रन आउट भए।
११.४ औं ओभरमा कप्तान रोहित पौडेलले शाकिब अल हसनलाई बोल्ड गरे।
सातौं विकेट सन्दीप लामिछानेले लिए।
उनले १३.२ ओभरमा बंगलादेशका तान्जिम हसन साकिबलाई बोल्ड गरे।
१५.३ ओभरमा लामिछानेले जाकर अलीलाई बोल्ड गरे। नवौं विकेट दीपेन्द्र सिंह ऐरीले लिए।
उनले १७.१ ओभरमा रिसद हुसेनलाई अनील साहबाट क्याच आउट गराए।
यसरी सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ विकेट लिन १७ रन खर्चिए। रोहित पौडेलले ४ ओभर बलिङ गरेर २ विकेट लिँदा २० रन खर्चिए भने चारै ओभर बलिङ गरेका सन्दीप लामिछानेले १७ रन खर्चिएर २ विकेट लिए।