आइसिसी टी-२० विश्वकपमा भारतले अफगानिस्तानमाथि ४७ रनको जित निकालेको छ।
गएराति सुपर आठको पहिलो खेल खेलेको भारतले अफगानिस्तानमाथि ४७ रनको जित निकालेको हो।
भारतले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले १३४ रनमात्रै बनाउन सक्यो।
अफगानिस्तानका लागि अजमतउल्लाह ओमरजईले बनाएको २६ रन सर्वाधिक रह्यो।
नजिबउल्लाह जद्रानले १९ रन बनाउँदा गुलबदिन नईबले १७ रन जोडे। मोहम्मद नाभिले १४ रन बनाए भने अन्य ब्याटरले रन बनाउन सकेनन्।
बलिङतर्फ भारतका जसप्रित बुमराह र अर्शदीप सिंहले ३/३ विकेट लिए भने कुलदीप यादवले २ तथा अक्षर पटेल र रविन्द्र जडेजाले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १८१ रन बनाएको थियो।
भारतका लागि सूर्यकुमार यादवले अर्धशतक हाने। उनले २८ बलमा ५ चौका र ३ छक्का हानेर ५३ रन बनाए।
हार्दीक पाण्ड्याले २४ बलमा ३ चौका र २ छक्का हानेर ३२ रन जोडे।
विराट कोहलीले २४ बलमा १ छक्का हानेर २४ रन बनाए भने ११ बल खेलेका रिसभ पन्तले ४ चौङ्का हानेर २० रन बनाए।
कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भएका थिए।
बलिङतर्फ रसिद खान र फजलहक फारूकीले ३/३ विकेट लिए भने नवीन उल हकले १ विकट लिए।
सुपर आठको समूह १ मा भारत, अफगानिस्तान, बंगलादेश र अष्ट्रेलिया छन्।
समूहको शीर्ष २ टिम सेमिफाइनल पुग्नेछ।
शुक्रबार बिहान अष्ट्रेलिया र बंगलादेशबीच खेल भइरहेको छ।