आइसिसी टी-२० विश्वकपमा अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ।
शुक्रबार बिहान भएको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलिया बंगलादेशविरूद्ध डिएल मेथडबाट २८ रनले विजयी भएको हो।
बंगलादेशले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा १२ औं ओभरको खेल जारी रहँदा भारी वर्षा भएपछि डिएल मेथडबाट अस्ट्रेलिया विजयी भएको हो।
भारी वर्षाअघि अस्ट्रेलियाले २ विकेटको क्षतिमा सय रन बनाएको थियो।
ओपनर डेविड वार्नर अर्धशतक हानेर नट आउट थिए। उनले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ५३ रन जोडिसकेका थिए।
त्यस्तै ६ बलमात्रै खेलेका ग्लेन म्याक्सवेल १ चौका र १ छक्का प्रहार गरी १४ रन जोडेर नट आउट थिए।
त्यसअघि कप्तान मिचेल मार्स १ रनमा आउट भएका थिए भने ट्राविस हेड २१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरी ३१ रन जोडेर आउट भएका थिए।
हेड र मार्स दुवैको विकेट बंगलादेशका रिशद होसेनले लिएका हुन्।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेट गुमाएर १४० रन बनाएको थियो।
बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले बनाएको ४१ रन सर्वाधिक रह्यो। उनले ३६ बलमा ५ चौका र १ छक्का हाने।
टोहिड हृदोयले २८ बलमा २ चौका र २ छक्का हानेर ४० रन जोडे। लिटन दासले २५ बला १६ रन बनाउँदा तास्किन अहमद १३ बनाएर नट आउट रहे।
अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन चुके।
बलिङतर्फ प्याट कमिन्सले ३, एडम जाम्पाले २ तथा मिचेल स्टार्क, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।
यो सँगै सुपर आठको पहिलो खेला अस्ट्रेलिया विजयी भएको छ। अब उसले अफगानिस्तान र भारतसँग खेल्न बाँकी छ।
भारत पनि सुपर आठको पहिलो खेलमा विजयी भइसकेको छ।
गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको थियो।
सुपर आठमा दुई समूह बनाएर प्रतिस्पर्धा गराइएको छ। दुई समूहका शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्नेछ।