आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले अपराजित यात्रा कायम राखेको छ।
गएराति इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार छैटौं जित निकालेको हो।
सुपर आठको दोस्रो खेलमा इंग्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
यसअघि समूह चरणका चारै खेल जितेको दक्षिण अफ्रिकाले सुपर आठको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो।
गएराति सुपर आठको दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रनमात्रै बनायो।
इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले अर्धशतक हाने। उनले ३७ बलमा ७ चौका प्रहार गरी ५३ रन बनाए।
लियम लिभिङस्टोनले १७ बलमा ३ चौका र २ छक्का हानेर ३३ रन जोडे।
कप्तान जोश बट्लर १७ रन बनाएर आउट भए। जोनी बैर्स्टो १६, फिल सल्ट ११, मोइन अली ९ रनमा आउट भए।
साम करण १० रन बनाएर नट आउट रहे।
बलिङतर्फ दक्षिण अफ्रिकाका कगिशो रबाडा र केशव महाराजले २/२ तथा ओटनेल बार्टमन र एनरिच नोर्त्जीले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १६३ रन बनाएको थियो।
त्यस क्रममा ओपनर क्वीन्टन डिककले अर्धशतक हाने। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६५ रन बनाए।
डेविड मिलरले २८ बलमा ४ चौका र २ छक्का हानेर ४३ रन जोडे।
ओपनर रेजा हेन्ड्रिक्सले २५ बल खेलेर १ चौकाको मद्दतले १९ रन बनाए।
हेनरिच क्लासेन ८, एडेन मक्रम १ रन र मार्को जनसेन शून्यमा आउट भए।
बलिङतर्फ इंग्ल्याण्डका जोफ्रा आर्चरले तीन तथा मोइन अली र अदिल रसिदले १/१ विकेट लिए।
सुपर आठमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजसँग र इंग्ल्याण्डले अमेरिकासँग अन्तिम खेल खेल्नेछ।