आइसिसी टी-२० विश्वकपमा भारतले बंगलादेशलाई पराजित गरेको छ।
सुपर आठको खेलमा भारतले लगातार दोस्रो जित निकाल्दा बंगलादेशले लगातार दोस्रो पराजय भोगेको हो।
लगातार विजयी हुने क्रममा गएराति भारतले बंगलादेशविरूद्ध ५० रनको जित निकाल्यो।
भारतले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ८ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो।
बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४० रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का हाने।
तान्जिड हसनले ३१ बलमा ४ चौका हानेर २९ रन जोडे। रिशद हुसेनले १० बलमा १ चौका र ३ छक्का हानेर २४ रनको योगदान गरे।
ओपनर लिटन दास र महमुद उल्लाहले १३/१३ रन, शाकिब अल हसले ११ रन जोडे।
बलिङतर्फ भारतका कुलदीप यादवले तीन विकेट, अर्शदीप सिंह र जसप्रित बुमराहले २/२ तथा हार्दीक पाण्ड्याले एक विकेट लिए।
पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १९६ रन बनाएको थियो।
त्यस क्रममा हार्दीक पाण्ड्या अर्धशतक हानेर नट आउट रहे। उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए।
विराट कोहलीले २८ बलमा १ चौका र ३ छक्का हानेर ३७ रन बनाए। रिशभ पन्तले २४ बलमा ४ चौका र २ छक्का हानेर ३६ रन जोडे।
शिवम् दुबेले २४ बलमा ३ छक्का हानेर ३४ रनको योगदान गरे। ओपनर तथा कप्तान रोहित शर्माले ११ बलमा ३ चौका र १ छक्का हानेर २३ रन जोडे।
बलिङतर्फ बंगलादेशका तान्जिम हसन शकिब र रिशद हुसेनले २/२ तथा शाकिब अल हसनले १ विकेट लिए।
जितसँगै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ भने बंगलादेश अन्तिम आठबाटै बाहिरिने निश्चितकरिब भएको छ।