आइसिसी टी-२० विश्वकपको जारी संस्करणमा अस्ट्रेलिया पहिलो पटक पराजित भएको छ।
समूह चरणका सबै खेल जितेर अन्तिम आठमा पुगेको अस्ट्रेलिया अन्तिम आठको दोस्रो र महत्वपूर्ण खेलमा पराजित भएको हो।
आइतबार बिहान समूह चरणको दोस्रो खेलमा अस्ट्रेलिया अफगानिस्तानसँग २१ रनले पराजित भएको हो।
अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुँदै १२७ रन मात्रै बनाउन सक्यो।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अर्धशतक हाने। उनले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५९ रन बनाए।
मिचेल मार्शले १२ र मार्कस स्टोइनिसले ११ रन बनाउनुबाहेक अस्ट्रेलियाका बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ अफगानिस्तानका गुलबदिन नइबले ४, नवीन उल हकले ३ विकेट तथा अजमतउल्लाह ओमरजई, मोहम्मद नाबी र रसिद खानले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाएर १४८ रन बनाएको थियो।
त्यस क्रममा ओपनर रहमानउल्लाह गुर्बाज र इब्राहिम जद्रानले अर्धशतक हाने। गुर्बाजले ४९ बलमा ४ चौका र ४ छक्का हानेर ६० रन बनाए।
जद्रानले ४८ बलमा ६ चौका हानेर ५१ रन जोडे।
करिम जनतले १३ र मोहम्मद नाबीले १० रन जोड्दा अफगानिस्तानका बाँकी ब्याटर चल्न सकेनन्।
बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्सले ३, एडम जाम्पाले २ तथा मार्कस स्टोइनिसले एक विकेट लिए।
अस्ट्रेलिया पराजित भएसँगै अन्तिम आठको समूह १ को प्रतिस्पर्धा रोमान्चक हुने देखिएको छ।
अस्ट्रेलियाले सुपर आठको अन्तिम खेल भारतसँग खेल्नेछ। अफगानिस्तानले बंगलादेशसँग खेल्नेछ।
ती खेलबाटै सेमिफाइनल प्रवेश गर्ने दुई टिमको टुंगो लाग्नेछ।