आइसिसी टी-२० विश्वकपमा आज उपाधिको छिनोफानो हुँदैछ।
उपाधि भिडन्तमा भारत र दक्षिण अफ्रिका शनिबार राति सवा ८ बजे बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा आमनेसामने हुँदैछन्।
बार्बाडोसमा आमनेसामने हुँदा भारत ११ वर्षदेखिको उपाधि खडेरी तोड्ने र दक्षिण अफ्रिका पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ।
फाइनल खेल त्यसै पनि रोचक हुने नै छ। समूह चरणदेखि दुवै टिम अपराजित रहँदै फाइनलमा भेट भएकाले खेल अझै प्रतिक्षित बनेको छ।
भारतले समूह चरणमा आयरल्याण्डलाई ८ विकेटले, पाकिस्तानलाई ६ रनले र अमेरिकालाई ७ विकेटले पराजित गरेको थियो। वर्षाका कारण खेल रद्द हुँदा क्यानडासँग उसले अंक बाँडेको थियो।
सुपर-आठका तीनै खेलमा भारत विजयी भएको थियो। उसले अफगानिस्तानलाई ४७ रनले, बंगलादेशलाई ५० रनले र अस्ट्रेलियालाई २४ रनले पराजित गरेको थियो।
समग्रमा ७ जित निकाल्दै भारतले फाइनलमा स्थान बनाएको हो।
जारी विश्वकपमा दक्षिण अफ्रिकाको लय पनि उत्कृष्ट छ।
समूह चरणमा श्रीलंकलाई ६ विकेटले, नेदरल्याण्ड्सलाई ४ विकेटले र बंगलादेशलाई ४ रनले हराएको थियो। समूह चरणकै खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको थियो।
समूह विजेता बन्दै सुपर आठमा पुगेको दक्षिण अफ्रिकाले सुपर आठमा इंग्ल्याण्डलाई ७ रनले, वेस्ट इण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले पराजित गरेको थियो।
दक्षिण अफ्रिका ८ जित निकाल्दै फाइनल पुगेको हो।
भारत बलिङ र ब्याटिङ दुवैतर्फ उत्कृष्ट लयमा छ। ७ खेलबाट २४८ रन बनाएका कप्तान रोहित शर्मा जारी विश्वकपमा सर्वाधिक रन बनाउने सूचीको तेस्रो नम्बरमा छन्।
रिशभ पन्त, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याको भूमिका पनि महत्वपूर्ण हुनेछ। ओपनर विराट कोहलीले यसपालि राम्रो प्रदर्शन गर्न सकेका छैनन्। कप्तान रोहित शर्मा विराटले फाइनलमा उत्कृष्ट खेल्ने आशमा छन्।
बलिङमा भारतका जसप्रित बुमराह, अर्शदीप सिंह लयमा छन्। बुमराहले ७ खेलबाट १३ विकेट लिँदा अर्शदीपले १५ विकेट लिएका छन्।
उच्च लयकै कारण दक्षिण अफ्रिका पनि ८ मा आठै खेल जितेर फाइनल पुगेको हो।
दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रम, क्वीन्टन डीकक र हेनरिक क्लासेन मुख्य ब्याटर हुन्। डेविड मिलर, ट्रिस्टन स्टब्स पनि महत्वपूर्ण ब्याटर हुन्।
एनरिच नोर्त्जे जारी विश्वकपको उत्कृष्ट बलर सूचीको तेस्रो नम्बरमा छन्। उनले ८ खेलबाट १३ विकेट लिएका छन्।
भारत र दक्षिण अफ्रिकाबीच टी-२० विश्वकपमा अहिलेसम्म ६ खेल भएका छन्। त्यसमा भारत ४ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ।
यसअघि २०१४ मा फाइनल पुग्नका लागि भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो।
पछिल्लो पटक सन् २०२२ को टी-२० विश्वकपमा भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको थियो।
आज हुने फाइनल खेलका लागि रिजर्भ डे पनि राखिएको छ।
प्रतिकूल मौसमका कारण खेल रोकिए रोकिएकै स्थितिबाट गनिने गरी भोलि खेलाइनेछ।