आइसिसी टी-२० विश्वकपको उपाधि भिडन्तमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ।
बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७६ रन बनाएको हो।
फाइनल खेलमा ओपनर विराट कोहलीले ७६ रन बनाए। उनले ५९ बल खेलेर ६ चौका र २ छक्का हाने।
अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का हानेर ४७ रन बनाए।
शिवम् दुबेले १६ बलमा ३ चौका र १ छक्का हानेर २७ रन जोडे।
फाइनल खेलमा कप्तान तथा ओपनर रोहित शर्मा ९ रनमा, सूर्यकुमार यादव ३ रनमा, रविन्द्र जडेजा २ रनमा र रिशभ पन्त शून्यमा आउट भए।
बलिङतर्फ एनरिच नोर्किया र केशव महाराजले २/२ तथा मार्को जनसेन र कगिशो राबाडाले १ विकेट लिए।
भारत ११ वर्षपछि उपाधि जित्ने दाउमा छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छ।