गौतम गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
मंगलबार भारतको क्रिकेट बोर्डले बिसिसीआईले गम्भीरलाई पुरूषतर्फ राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
उनलाई टेस्ट, एकदिवसीय र टी-२० तीनवटै फर्म्याटमा मुख्य प्रशिक्षक नियुक्त गरिएको बिसिसीआईका सचिव जय शाहले जानकारी दिए।
गौतम गम्भीरले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भारतीय टिममा फेरि पुनरागमन गर्न पाउँदा गौरवान्वित भएको बताएका छन्।
हालका प्रशिक्षक राहुल द्रविडको टी-२० विश्वकपपछि कार्यकाल समाप्त भएसँगै बिसिसीआईले नयाँ मुख्य प्रशिक्षक चयन गरेको हो।
गम्भीर मेन्टरका कोलकाता नाइट राइडर्सले डेढ महिनाअगाडि इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को उपाधि जितेको थियो।
४२ वर्षीय उनले तीन वर्षसम्म एकदिवसीय, टेस्ट तथा टी–२० का मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
बीसीसीआईका सचिव शाहले नयाँ प्रशिक्षकका रूपमा गम्भीर श्रीलंका सिरिजबाट भारतीय टोलीमा सामेल हुने बताएका छन्।