छुम्बी लामा नेपाल क्रिकेट संघ (क्यान) को प्रवक्ता मनोनयन भएका छन्। गत असार २० बसेको केन्द्रीय कार्यसमितिको बैठकले लामालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
क्यानबाट संचालन हुने विभिन्न गतिविधि मिडिया तथा सामाजिक सञ्जालमार्फत् आधिकारिक रुपमा प्रवाह उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको क्यानले जनाएको छ।
लामालाई यसअघि गत फागुनमा राष्ट्रिय खेलकुद परिषद्ल केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो।
लामा क्यानको अघिल्लो कार्यसमितिमा पनि खेलकुद परिषदको तर्फबाट केन्द्रीय सदस्य मनोनित भएका थिए। अघिल्लो कार्यसमितिमा क्यानमा हुने अनिमयमिताको विषयमा आवाज उठाउने ६ जना केन्द्रीय सदस्यमध्ये लामा पनि एक थिए। खेलाडीमाथिको असान्दर्भिक कारबाही, नेपाली टी-२० लिगको अवैध सम्झौता लगायतका विषयमा उनीहरुले चर्को आवाज उठाएका थिए।
लामा २०६८ सालदेखि क्रिकेटमा सक्रिय छन्। क्यानको अध्यक्षमा टंक आङ्बुहाङ निर्वाचित भएपछि लामाले सुरुमा क्यानको कार्यालय प्रमुखको जिम्मेवारी पाएका थिए। त्यसपछि क्यानले भावना घिमिरेलाई सिईओ नियुक्त गरेपछि लामालाई प्रमुख कार्यसंचालन अधिकृतको जिम्मेवारी दिइएको थियो।
क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निलम्बन गरेपछि क्रिकेट गतिविधि संचालन गर्न लामाले परिषद्को तर्फबाट काम गरेका थिए। लामाले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालमा आयोजना भएका केन्या र नामिबियाविरुद्धको खेल गराउन काम गरेका थिए।
लामाले परिषद्सँगको सहकार्यमा मूलपानी क्रिकेट मैदानको मर्मत गर्न पनि पहलकदमी लिएका थिए।
लामा पोखरा प्रिमियर लिग टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका कार्यकारी निर्देशक थिए।
यस्तै उनी कार्यकारी निर्देशक रहेको क्विन्स इभेन्टले नेपालमा पहिलोपटक महिला क्रिकेट लिग गराउने क्रममा वुमेन्स च्याम्पियन्स लिग आयोजना गरेको थियो।
लामाकै नेतृत्वमा अहिले क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) सञ्चालनमा छ। जहाँ सयौं क्रिकेटरले क्रिकेट सिकिरहेका छन्।