वुमन्स एसिया कप २०२४ को तयारीका लागि श्रीलंकामा रहेको नेपालले अभ्यास खेलमा जित हात पारेको छ।
यसअघिका दुई खेलमा लगातार पराजय भोगेको नेपालले मंगलबार भएको तेस्रो खेलमा एसएल डेभलवमेन्ट स्क्वाडविरुद्ध २ रनको जित निकालेको छ।
तेस्रो खेलमा ११३ रनको लक्ष्य पछ्याएको एसएल डेभलवमेन्ट स्क्वाडलाई नेपालले २० ओभरमा ११० रनमै रोकेको हो।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११२ रन जोड्यो। नेपालका लागि रुबिना क्षेत्रीले ३७ रन र विन्दू रावलले २० रन बनाए।
यसअघि नेपालले एसएल डेभलवमेन्ट स्क्वाडविरूद्धको पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटको पराजय भोगेको थियो।
श्रीलंकामा आगामी शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह 'ए' मा छ।
नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन्। नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ। दोस्रो खेल पाकिस्तानसँग २१ जुलाई र समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा हुनेछ।