विश्व विजेता भारतको टी-२० टोलीको नयाँ नियमित कप्तान ब्याटर सूर्यकुमार यादवलाई बनाउने तयारी गरिएको छ।
आगामी साउन तेस्रो सातादेखि हुने श्रीलंका भ्रमणका लागि वर्तमान उपकप्तान हार्दिक पाण्ड्याभन्दा सूर्यकुमार यादव पहिलो रोजाइमा रहेको क्रिक इन्फोले लेखेको छ।
हुन त यादवले यसअघि पनि भारतीय टोलीको कप्तानी गरिसकेका छन्।
गत महिना सकिएको टी-२० विश्वकपको उपाधि जितेसँगै तत्कालिन कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टी-२० बाट संन्यास लिएसँगै नयाँ कप्तानमा यादवको नाम अगाडि आएको हो।
पाण्ड्याले टी-२० विश्वकपमा भारतको उपकप्तानको भूमिका निर्वाह गरेको तथा आइपिएलमा पनि कप्तानी गरेका थिए। तर पनि उनको फिटनेटमा प्रश्न उठेको छ।
गत अक्टोबर-नोभेम्बरमा घरेलु मैदानमा भएको ५० ओभरको विश्वकपमा पाण्ड्याको घुँडामा चोट लागेको थियो। त्यसपछि आइपिएल टोली मुम्बईको नेतृत्वमा फर्किए पनि उनी आइपिएल सुरु नभएसम्म मैदान बाहिर थिए। पाण्ड्याले २०२२ को सुरुदेखि भारतले खेलेका ७९ टी-२० खेलमध्ये ४६ मा मात्रै खेलेका छन्।
यादवले यसअघि घरेलु मैदानमा मुम्बईको कप्तानी गरेका थिए। भारतले गत नोभेम्बरमा अष्ट्रेलियाविरुद्धको टी-२० सिरिज जित्दा यादवले कप्तानी गरेका थिए।
श्रीलंकामा नयाँ प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा भारतले पहिलो टी-२० सिरिज खेल्नेछ। विश्वकपपछि राहुल द्रविडले प्रशिक्षक छाडेपछि गम्भीरले जिम्मेवारी पाएका हुन्।
शुभमन गिलको नेतृत्वमा रहेको युवा भारतीय टोली जिम्बाब्वेबाट ४-१ ले टी-२० सिरिज जितेर फर्किएको छ। जिम्बावेविरुद्धको टोलीमा विश्वकप जित्ने टोलीका तीन खेलाडी मात्रै थिए।
श्रीलंकाविरुद्ध खेल्ने टोलीको टुंगो लगाउन बुधबार चयनकर्ताको बैठक बस्ने बताइएको छ। भारतले श्रीलंकामा तीन टी-२० र तीन एकदिवसीय सिरिज खेल्नेछ।