एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) सँग नेपाल भिड्दै छ।
श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु खेलमा नेपालले टस जितेको छ।
टस जितेपछि नेपालकी कप्तान इन्दू वर्माले पहिले फिल्डिङ गर्ने निर्णय गरेकी छिन्। मैदानमा हावा चल्ने अवस्था रहेकाले टस जितेर पहिले फिल्डिङ रोजेको वर्माको भनाइ छ।
नेपाली टोली : १ रुबिना क्षेत्री, २ सीता रानामगर, ३ इन्दू वर्मा (कप्तान), ४ कविता कुँवर, ५ कविता जोशी, ६ पूजा महतो, ७ विन्दू रावल, ८ सम्झना खड्का, ९ काजल श्रेष्ठ (विकेटकिपर), १० कृतिका मरासिनी, ११ सबनम राई
नेपाली महिला टोलीले तेस्रोपटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो।
यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।
नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन् ।