स्कटल्यान्डका चार्ली क्यासलले डेब्यू एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट बलिङ गर्ने विश्वकीर्तिमान बनाएका छन्।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरूद्धको डेब्यू खेलमा उनले ७ विकेट लिएका हुन्। उनले घरेलु मैदानमा भएको खेलमा ५.४ ओभरमा १ मेडन राख्दा २१ रन मात्र खर्चिए।
यसअघि एकदिवसीय खेलको डेब्यूमा उत्कृष्ट बलिङको रेकर्ड दक्षिण अफ्रिकाका कागिसो रबडाको नाममा थियो। उनले सन् २०१५ मा बंगलादेशविरुद्ध डेब्यू खेलमा ६ विकेट लिँदा ८ ओभरमा १६ रन मात्र खर्चिएका थिए।
तीव्र गतिका बलर चार्लीले उत्कृष्ट बलिङ गर्दा पहिले ब्याटिङ गरेको ओमान २१.४ ओभरमा ९१ रनमै अलआउट भएको थियो। जुन लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा १७.२ ओभरमै पूरा गर्यो।
खेलमा चार्लीका लागि ड्रिम डेब्यू सावित भयो। उनले आफ्नो सुरुवाती दुई बलमा दुई विकेट लिएर उत्कृष्ट सुरुवात गरेका थिए।
‘तपाईं आफ्नो डेब्यूमा एक वा दुई विकेट लिने आशा गर्न सक्नुहुन्छ, तर तपाईंले सात विकेट लिने आशा गर्न सक्नुहुन्न,’ खेलपछि उनले भने, ‘खेलमा मैले निकै सजिलो महसुस गरे। म सधैँ सहि ठाँउमा बलिङ गर्ने कोशिस गर्थे। आज पनि सहि ठाँउमा बलिङ गरेको अर्को दिन हो।’
लिग-२ मा स्कटल्यान्ड र ओमानसहित क्यानडा, नेदरल्यान्ड्स, नेपाल, अमेरिका, युएई र नामिबिया छन्। अंक तालिकामा क्यानडा ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा छ। ४ खेलबाट २ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ।