क्याम प्रिमियर लिगको उपाधि लुम्बिनी क्रिकेट क्लबले जितेको छ।
अस्ट्रेलियाको सिड्नीस्थित नेपाली समुदायका विभिन्न १६ टोलीबीच भएको लिगमा लुम्बिनीले ६ हजार डलर पुरस्कार राशीको लिग उपाधि जितेको हो।
आइतबार स्थानीय होमबुस मैदानमा सम्पन्न फाइनलमा तराई क्रिकेट क्लबलाई ६२ रनले हराउँदै लुम्बिनीले उपाधि रक्षा गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। उसका लागि शाहिल खानले सर्वाधिक ५८ रन बनाए। ३५ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरेका थिए।
यस्तै सरोज पाठकले १६ बलमा ३४ रन बनाउँदा राहुल श्रेष्ठले २५ रन जोडे। तराईका लागि पेम्बा लामाले २ तथा आरूस शर्मा र अनुरागले वलीले १-१ विकेट लिए।
१९४ रनको विशाल लक्ष्य पछ्याएको तराई क्रिकेट क्लब १२.५ ओभरमा अलआउट हुँदै १३१ रनमा समेटियो।
तराईका जनक पछाईले २६ रन बनाउँदा ज्ञानु भट्टले २१ तथा लागि राजु न्यौपानेले १५ रन जोडे। तराईलाई रोक्न विकास खरेलले ४ ओभरमा ४० रन खर्चिएर ४ विकेट लिए। यस्तै विशाल सुनारले ३ तथा क्षितिज बस्नेतले २ विकेट लिए।
सिड्नीको नेपाली समुदाय बीच विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको क्याम प्रिमियर लिगको यो तेस्रो संस्करण हो।
क्याम युथ एसोसिएनको आयोजनामा सम्पन्न प्रतियोगितामा विजेता लुम्बिनीले नगद ६ हजार अष्ट्रेलियन डलरसहित ट्रफी र प्रमाणपत्र पाएको छ। यस्तै उपविजेतामा सिमित भएको तराई टाइगर स्पोर्टस् क्लबले नगद २ हजार अस्ट्रेलियन डलरसहित ट्रफी र प्रमाण पत्र हात पारेको छ।
यस्तै प्लेयर अफ द सिरिज भएका विशाल सुनारले ५ सय अस्ट्रेलियन डलर पाएका छन्। उनले प्रतियोगितामा १९ विकेट लिनुका साथै ३३८ रन बनाएका थिए।
यस्तै प्रतियोगितामा ४१० रन बनाएका मोहम्मद इरफान उत्कृष्ट व्याटर भए। १९ विकेट लिएका रेगन थापा उत्कृष्ट बलर भए।
‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ अप्रिल १४ बाट सुरू भएको प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमी क्रिकेट क्लब, वेष्टर्न लायनन्स क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, द मार्फाज क्रिकेट क्लब, क्याम ब्वाइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, एक्पर्ट क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, नैपाल क्रिकेट क्लब र अन्नपूर्ण क्रिकेट क्लबको सहभागिता रहेको थियो।
सिड्नीको ब्रेसिंगटन पार्क , साउथ एभर्ली पार्क र नर्थ एभर्ली पार्कमा खेलहरू भएका थिए।
सन् २०२२ मा भएको पहिलो सिजनको उपाधि बुद्धभूमी क्रिकेट क्लबले जितेको थियो भने सन् २०२३ को अघिल्लो संस्करणको उपाधि लुम्बिनी क्रिके क्लबले नै जितेको थियो।
क्रिकेटमार्फत नेपाली समुदायलाई चिनाउने, व्यवसायिक खेलाडी तयार पार्न मद्दत गर्ने, मानसिक रुपमा तनाव मुक्त रहन सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मुस्कान पाण्डेले जानकारी दिए।
पाण्डेले नेपालसहित विभिन्न देशबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी आएका नेपाली विद्यार्थीबीच प्रतियोगिता आयोजना गरिएको बताए। पाण्डेका अनुसार नेपालबाहेक भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका खेलाडीले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए।
प्रतियोगिताको उद्घाटन खेल दोस्रो सिजनको उत्कृष्ट ११ र जेनएक्स उत्कृष्ट ११ बीच भएको थियो । पछिल्लो समय सिड्नीमा बढ्दो आत्महत्या घटना न्यूनिकरणका लागि 'से नो टु सुसाइड' नारासहित उद्घाटन खेल खेलिएको थियो। उक्त खेलमा क्याम ११ विजयी भएको थियो।
प्रतियोगिताको फाइनलमा उपस्थित क्रिकेट अस्ट्रेलियाका माइकल हेनेसीले नेपाली बढ्दो नेपाली समुदायसँगै हुर्किएको क्रिकेटको प्रशंसा गर्दै यस्ता खाले प्रतियोगिताका लागि साथ र सहयोग गर्ने बताए।
यस्तै क्रिकेट एनएसडब्लुका इनरवेष्ट मेनेजर रोशन हेलालुडिनले क्रिकेटप्रति नेपालीको लगाव र क्रेज देखेर आफू अत्यन्त खुसी भएको भन्दै यस्ता खाले कार्यक्रमका लागि आफूहरू सधै सहयोग गर्न तयार रहेको बताए।
एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवं एनएसडब्लु राज्य संयोजक विनोद कुँवरले नेपाली राष्ट्रिय टोलीको पछिल्लो सफलतासँगै प्रवासमा हुर्किँदै गरेको नेपाली क्रिकेटलाई खुलेर प्रशंसा गर्दै नेपाली क्रिकेटको विकासमा आफूले जस्तोसुकै सहयोग गर्ने बचन दिए।
आफूले नेपालमा व्यक्तिगत लगानीमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागेको जानकारी गराउँदै संयोजक कुँवरले आफ्नो क्रिकेटप्रतिको लगावले मूर्त रूप लिन लागेको बताए।