कुनै दिन मैदान जान पाएनन् भने केही न केही छुटेजस्तो भइरहन्छ। आफू नहुँदा केटाकेटीले राम्ररी अभ्यास गर्न पाएनन् कि भन्ने चिन्ताले पनि उनलाई खाइरहन्छ। मैदान, क्रिकेट र विद्यार्थी उनको बानी भइसके।
केटाकेटीलाई क्रिकेट सिकाएर खुसी हुने ज्ञानेन्द्र दडिवाना क्षेत्री धनगढी क्रिकेट रंगशालामा प्रशिक्षक हुन्।
धनगढी उपमहानगरपालिका–५, निवासी ३६ वर्षीय ज्ञानेन्द्र १२ वर्ष क्रिकेट खेलेपछि प्रशिक्षक बनेका हुन्। प्रशिक्षक भएर काम गरेको पनि ९ वर्ष भयो।
क्रिकेटसँग उनी २१ वर्षअघि जोडिएका हुन्। ८ कक्षामा पढ्दै गर्दा १२ वर्षको उमेरमा क्रिकेट र फूटबल खेल्न थालेका थिए। उनले क्रिकेट सिक्न थाल्दा भौतिक संरचना र खेल सामग्रीको अभाव थियो। क्रिकेट प्रशिक्षक पनि थिएनन्। अहिलेको तुलनामा प्रतियोगिता आयोजना पनि निकै कम थियो।
ज्ञानेन्द्रसँग प्लास्टिक र रबरको क्रिकेट बल हुन्थ्यो। टिमका सबै खेलाडी एउटै ब्याटले खेल्थे। उनले सिक्ने समयको तुलनामा अहिलेको क्रिकेटले ठूलो फड्को मारेको छ।
क्रिकेट खेल फड्को मार्दै अघि बढ्यो। जिल्ला, क्षेत्रीय र राष्ट्रियस्तरका प्रतियोगिता हुने क्रम बढ्न थाल्यो।
‘त्यो बेला प्रतियोगिता हुँदै छ भन्ने जानकारी एक हप्ताअघि मात्रै आउँथ्यो। अहिले त वर्षदिनअघि नै थाहा हुन्छ,’ उनले भने।
प्रतियोगिताका लागि खेलाडी तयार प्रशिक्षक कहिलेकाहीँ मात्रै भेटिन्थे। ‘राष्ट्रिय खेलकुद परिषदबाट काजमा प्रशिक्षक आउँथे तर दुईचार दिन बसेर हाँ
जिर लगाएर जान्थे,’ ज्ञानेन्द्रले भने, ‘भोलेन्टियर (स्वयंसेवक) प्रशिक्षक फाटफुट आउँथे।’
उनले किसन महतो र अर्जुन खड्कासँग क्रिकेट सिकेको स्मरण गरे। स्कूलमा खेल्न थाल्दा ज्ञानेन्द्रलाई क्रिकेटको राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्व थाहा थिएन, रमाइलोका लागि मात्र खेल्थे।
खल्दै जाँदा उनले क्रिकेटको महत्त्व थाहा पाए। आफू र आफ्नो देश चिनाउन सकिने रहेछ भन्ने थाहा भएपछि क्रिकेट खेलाडी बन्ने निष्कर्षमा पुगे।
२०५७ सालमा सिद्धार्थ शिशुसदन विद्यालयले ‘शान्ति मेमोरियल कप क्रिकेट’ आयोजना गर्यो। ज्ञानेन्द्रले त्यो प्रतियोगिता खेले। त्यही नै उनको पहिलो प्रतियोगिता थियो। उपाधि पनि उनकै टिमले जित्यो।
उनी उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा ‘म्यान अफ द म्याच’ पनि भए। त्यसपछि चार वर्ष विद्यालयस्तरका प्रतियोगिता खेले।
ज्ञानेन्द्र खेलाडी हुँदा आफूले भोगेको अभाव सम्झन्छन्। उनले भने, ‘क्रिकेट किट्सको अभाव हुन्थ्यो। सबै खेलाडीका लागि एक सेट किट हुन्थ्यो।’
उनी १५ वर्षमुनिका खेलाडी (यू–१५) को क्षेत्रीय टिम छनोटका लागि बन्द प्रशिक्षणमा परेका थिए। महेन्द्रनगरमा तीन दिन चलेको प्रशिक्षणबाट उनी टिममा छनोट भए। उनको बलिङ निकै राम्रो मानियो।
उनले भने, ‘क्याम्प (बन्द प्रशिक्षण) मा पर्न अहिलेको जस्तो प्रतिस्पर्धा हुँदैनथ्यो। टिमका लागि चाहिनेभन्दा कम खेलाडी हुन्थे।’
अफिसियल रूपमा बन्द प्रशिक्षण लिन पाउनु उनका लागि ठूलो अवसर थियो।
त्यो समय यू–१५, यू–१७, यू–१९ र सिनियर टिम हुन्थे। उनले यी सबै उमेर समूहका टिमबाट जिल्लास्तर र क्षेत्रीयस्तरका प्रतियोगिता खेले।
२०६३ र २०६५ सालमा मा यू–१९ को क्षेत्रीय टिमबाट उनले राष्ट्रियस्तरको प्रतियोगिता खेले। ती दुबै प्रतियोगिताको नाम ‘यू–१९ राष्ट्रिय प्रतियोगिता’ थियो।
उनी २०७० सालमा क्षेत्रीयस्तको सिनियर टिममा परे। लगत्तै टी–ट्वान्टी राष्ट्रिय प्रतियोगिता खेले। त्यसको एक वर्षपछि २०७१ सालमा एक दिवसीय राष्ट्रिय प्रतियोगिता खेले।
ज्ञानेन्द्रले व्यावसायिक ढंगले आयोजित ‘फ्रेन्चाइज गेम’ पनि खेले। पहिलो ‘अक्सन धनगढी क्रिकेट लिग’ पनि खेले। त्यो प्रतियोगिताका लागि धनगढी हसनपुरको टिममा अनुबन्धित भए। टिमका लागि उनको मूल्य १७ हजार रुपैयाँ थियो।
उनले धनगढीमा आयोजित एसपिए कपका सबै संस्करण खेले। पहिलो एसपिए कप धनगढी रंगशालामै भएको थियो जसमा उनी ‘राइजिङ प्लेयर’ भए।
एकपटक धनगढीमै भारतको मुम्बई टिमसँग ‘फ्रेन्डसिप कप’ पनि खेले।
ज्ञानेन्द्रले फ्रेन्डसिप कपमा आएका भारतीय खेलाडीसँग व्यक्तिगत किट रहेको देखे। उनका लागि त्यो दृश्य अनौठो थियो। उनले यस्तै किट आफूसँग हुनुपर्छ सोचे तर त्यति बेला किन्न सकेनन्।
उनी २०५९ सालदेखि १२ वर्ष अफिसियल खेलाडी भए।
उनी राष्ट्रिय टिममा भने कहिल्यै परेनन्। एकपटक यू–१५ राष्ट्रिय टिममा पर्ने आशा थियो। क्याम्पको सूचीमा उनको पनि नाम थियो तर देशमा चलेको सशस्त्र द्वन्द्वका कारण क्याम्प चलेन। उनले आफ्नो क्षमता देखाउन पाएनन्।
एकपटक तत्कालीन सुदूर पश्चिमाञ्चल विकास क्षेत्रबाट चार जना खेलाडी राष्ट्रिय टिमका लागि छनोट भएर काठमाडौं गए। त्यो छनोटमा पर्ने उनको अपेक्षा पूरा भएन।
उनले भने, ‘म राष्ट्रिय टिममा परिनँ। राष्ट्रका लागि खेल्न नपाएको सम्झिँदा मन अमिलो हुन्छ।’
उनले आफू राष्ट्रिय टिममा नपरे पनि आफूले प्रशिक्षण दिएका खेलाडी राष्ट्रिय टिममा पुर्याउने अठोट गरेका छन्।
ज्ञानेन्द्र सामान्य आर्थिक परिवारका थिए। बुबा सानो किराना पसल चलाउँथे। उनले क्रिकेट खेलेको परिवारजनलाई उति मन परेको थिएन तर उनको लगाव कम भएन।
चार दाजुभाइ मध्ये ज्ञानेन्द्र कान्छा थिए। तीन दाजुहरू फुटबल खेल्थे। दाजुहरूले प्रदेशका र जिल्लाका टिमबाट फुटबल खेले। ज्ञानेन्द्रले पनि एक वर्ष जति खेले तर फुटबल छाडेर क्रिकेटमा लागे।
राष्ट्रिय खेलकुद परिषद्ले २०६९ सालमा ‘विद्यालय खेल शिक्षक तालिम’ का लागि आवेदन आह्वान गर्यो। ज्ञानेन्द्रले पनि आवेदन गरे। प्रवेश परीक्षा उत्तीर्ण भई तालिमका लागि छनोट भए।
धनगढी कर्भडहलमा साढे एक महिना तालिम भयो। तालिमपछि उनले विद्यालयमा प्रशिक्षणको काम गरे। खेल पनि जारी राखे।
उनले २०७१ सालसम्म क्रिकेट खेले। खेल्न छोडेको एक वर्षपछि ‘प्रशिक्षक तालिम’ मा सहभागी हुने अवसर पाए।
‘क्रिकेटमा १२ वर्ष लागेपछि अब यही क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावना भयो। पहिलो तालिम लिएर विद्यालयमा खेल शिक्षक भएपछि सिकाउने रहर जाग्यो,’ उनले भने, ‘प्रशिक्षक लागि तालिम लिन पाएपछि पूर्णरूपमा प्रशिक्षक भएँ।’
कैलाली जिल्ला खेलकुद समितिले २०७२ सालमा क्रिकेटमा ‘भोलेन्टियर प्रशिक्षण’ का लागि आवेदन आह्वान गरेको थियो। ज्ञानेन्द्रले आवेदन गरे, छनोट पनि भए।
जिल्ला खेलकुद समितिले आन्तरिक स्रोतबाट मासिक ६ हजार रूपैयाँ दिने भयो। उनले धनगढी रंगशालको प्रशिक्षण केन्द्रमा लगातार चार वर्ष प्रशिक्षक भएर काम गरे।
ज्ञानेन्द्रले २०७५ सालमा राष्ट्रिय खेलकुद परिषदको आंशिक सहयोग र व्यक्तिगत खर्च समेतमा भारतको पटेलामा प्रशिक्षणसम्बन्धी ‘सिक्स वइक’ तालिम लिने अवसर पाए।
त्यो तालिमपछि उनको प्रशिक्षण यात्रा झन् सहज भयो। मुलुकमा कोराना संक्रमणको महामारी फैलिएपछि प्रशिक्षण बन्द भयो। जिल्ला खेलकुद समितिले ज्ञानेन्द्रलाई अवकाश दियो।
महामारी मत्थर भएपछि उनी फेरि प्रशिक्षणमा संलग्न भए। करिब तीन वर्ष धनगढीको प्रशिक्षण केन्द्रमा निःशुल्क प्रशिक्षण गराए।
एक वर्षअघि ‘सुदूरपश्चिम प्रदेश खेलकुद परिषद’ ले प्रशिक्षक नियुक्तिका लागि आवेदन आह्वान गर्यो। ज्ञानेन्द्रले पनि आवेदन गरे। प्रतिस्पर्धामा उनै छनौट भए। एक वर्षयता खेलकुद परिषदको करार प्रशिक्षकका रूपमा धनगढी प्रशिक्षण केन्द्रमा कार्यरत छन्।
उनका अनुसार धनगढीमा क्रिकेट प्रशिक्षण गराउन केही समस्या छ। खेलाडीका लागि पर्याप्त फराकिलो मैदान छैन। सानो क्षेत्रफलमा रहेको टर्फ पिचमा क्रिकेट सिकाउनु परेको छ।
समस्याका बीचमा पनि उनी प्रतिबद्ध छन्। भन्छन्, ‘जति संरचना छ त्यसको भरपूर सदुपयोग गरेर सिकाउँदै छु।’
धनगढी क्रिकेट एकेडेमीलाई प्रदेश खेलकुद परिषद् र जिल्ला खेलुकुद समितिले खेल सामग्री उपलब्ध गराउने गरेका छन्।
ज्ञानेन्द्रका अनुसार बितेको ९ वर्षमा उनले कम्तीमा पाँच सयजनालाई क्रिकेट प्रशिक्षण दिएका छन्। प्रशिक्षण केन्द्रमा सुदूरपश्चिमका खेलाडी संलग्न हुन्छन्। केही भारतीय पनि आएको उनले बताए।
आफूले प्रशिक्षण गरेका केही खेलाडी उमेर समूह र सिनियर दुबैतर्फका राष्ट्रिय टिममा परेको उनले बताए। उनका अनुसार राष्ट्रिय टिममा पर्ने खेलाडीमा महिला बढी छन्।
ज्ञानेन्द्रका विद्यार्थीमध्ये केहीले राष्ट्रिय टिममा प्रतिनिधित्व गर्दै अन्तराष्ट्रियस्तरका प्रतियोगितामा आफ्नो प्रर्दशन देखाउन पाए। जस्तो शेर मल्ल, जसले यू –१९ को राष्ट्रिय टिमको कप्तानी गरेका थिए। गत चैतमा भएको आइल्याण्ड-ए सँगको टी-२० र एकदिवसिय प्रतियोगिताका खेलहरू मल्लले नेपालको ‘ए’ बाट खेले।
अर्जुन साउद पनि उनका विद्यार्थी हुन्। अहिले सिनियर राष्ट्रिय टिममा छन्। राष्ट्रिय टिमबाट उनले थुप्रै प्रतियोगिता खेलेका छन्।
यू –१६ नेपाली पुरूष राष्ट्रिय टिमबाट गत वर्ष मलेसियामा भएको एसीसी इष्ट जोन कप खेलेका अशोक धामीले प्रशिक्षक ज्ञानेन्द्र दडीवाना क्षेत्रीबाट नै क्रिक्रेट सम्बन्धिको आधारभूत कुराहरू सिकेका थिए। उनले अहिले पनि ज्ञानेन्द्रलाई सम्झिरहन्छन्।
‘म धनगढीमा स्कुल पढ्दाखेरी, सुरूमा क्रिक्रेट सिकेको नै उहाँबाट हो,’ अशोकले भने।
ज्ञानेन्द्रले सिकाएका केहि टिप्स अहिले पनि याद भइरहने उनले बताए।
‘मैलेँ टेक्नीकल रूपमा ब्याट कसरी समात्ने भन्ने कुरा ज्ञानेन्द्र गुरूबाट सिकेको हो, फस्टचोटी ब्याट समात्ने, कसरी उठाउने, ब्याटिङ ग्रीप मैलेँ उहाँबाट सिकेको हु,’ उनले भने।
धनगढीको प्रशिक्षण केन्द्रबाट क्रिक्रेट सिकेर उमेर समुह र सिनियर टिममा पर्ने महिलाहरू पनि छन्।
कविता कुँवर उनी महिला सिनियर राष्ट्रिय टिममा छिन्। भर्खरै सम्पन्न एसीसी विश्वकप पउनले खेलिन्। कविताले राष्ट्रिय टिमबाट धेरै खेल खेलेकी छिन्। कविताबलर अराण्डर हुन्। ओपनर बलर उनी हुन्। उनी पछिल्लो समय राम्रो प्रर्दशन गर्ने खेलाडीमा पर्छिन्। उनले धनगढीको रंगशालामा रहेको प्रशिक्षण केन्द्रमानै क्रिक्रेट सिकेको नौ वर्ष जति भयो।
‘जति बेलादेखि क्रिक्रेट खेल्न थालेँ, अहिलेसम्म यही प्रशिक्षण केन्द्रमा सिक्छु, दाईले कसरी ब्याट, बल समात्ने भन्ने कुरा सिकाए सुरूमा, सानो थिएँ, दाईले मलाई सिकाएका धेरै कुरा अहिले पनि म सम्भिन्छु,’ कविताले भनिन्।
ज्ञानेन्द्रकै विद्यार्थी रूबी पोदार महिला राष्ट्रिय टिममा छिन्। त्यस्तै स्नेहा महरा यू –१९ महिला राष्ट्रिय टिमकी उपकप्तान हुन्।
यू–१९ महिला राष्ट्रिय टिमबाट क्रिक्रेट खेलेका यशोदा विष्ट र लक्ष्मी साउदलाई ज्ञानेन्द्रले धनगढीमा क्रिकेट सिकाएका हुन्। लक्ष्मी भर्खरै सिनियर राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेकी थिइन्। अहिले विभागिय टिम आर्मीमा छिन्।
ज्ञानेन्द्र ‘सुदूरपश्चिम अवार्ड’ को पहिलो वर्षमा ‘वर्ष प्रशिक्षक’ रूपमा मनोनीत भएका थिए।
उनको दिनचर्या क्रिकेट खेलसँग अभिन्न छ। बिहान ७ बजेदेखि ९ बजेसम्म धनगढीकै सिद्धनाथ माध्यमिक विद्यालयका विद्यार्थीलाई क्रिकेट सिकाउँछन्। बिहानको खानापछि जिल्ला खेलकुद परिषदको कार्यालय पुग्छन् र दैनिक काममा लाग्छन्।
खेलकुद सम्बन्धी बैठक, कार्यक्रम र प्रतियोगितामा सहभागी हुन्छन्। अपराह्न ४ बजेदेखि ७ बजेसम्म धनगढी रंगशालाको क्रिकेट प्रशिक्षण केन्द्रमा पुग्छन्।
हाल कैलाली जिल्ला क्रिकेट एकेडेमीमा ५० पुरूष र १२ जना महिला प्रशिक्षार्थी छन्। ज्ञानेन्द्रको अनुभवअनुसार खेलाडीहरूको सिक्ने क्षमता फरक–फरक हुन्छ।
‘कोही छिटो सिक्ने हुन्छन्। कोही अलिक ढिलो सिक्छन्,’ उनी भन्छन्, ‘सिनियर खेलाडीहरू आफैं अभ्यास गर्छन्। उनीहरूलाई टेक्निक सिकाए पुग्छ। मसँग सिक्ने धेरै खेलाडी नयाँ हुन्छन्।’
यसरी क्रिकेट खेल ज्ञानेन्द्रको जीवनको अभिन्न अंग हो। राष्ट्रिय टिमबाट खेल्न नपाएको धोको अधुरै रहेको कुरा उनलाई कहिलेकाँही बिझाउँछ। अनि फेरि चित्त बुझाउने बाटो खोज्छन् - ‘राष्ट्रिय टिमबाट खेल्ने धोको मैलेँ सिकाएका खेलाडीले पुरा गर्लान् नि।’