नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय गरेको छ।
क्यानको आज बसेको बोर्ड बैठकले आठ टिमबीच पहिलो संस्करणको एनपिएलमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो।
साथै क्यानले ७ वटै प्रदेशका २ जना महिला र ३ जना पुरुष गरी प्रति प्रदेश ५ जना खेलाडी गरी कुल ३५ जना प्रदेशका क्रिकेटरलाई तलब दिने पनि निर्णय गरेको छ। क्यानले सेप्टेम्बर १ देखि लागू हुने गरी १ वर्षसम्म जनही मासिक १५ हजार रूपैयाँका दरले ३५ जनालाई तलब दिने निर्णय गरेको हो।
खेलाडीको पारिश्रमिक वापतको बजेट रकम प्रदेशमा निकासा गरी सम्बन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराइने निर्णय भएको हो।
यस्तै वेष्ट इण्डिज र अमेरिकामा सम्पन्न टी-२० विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ तथा अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ।
वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यहि सेप्टेम्बर-अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने क्यानले निर्णय गरेको छ।
यस्तै इलिट कप क्रिकेट प्रतियोगिता यहि अक्टोबर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र विरगन्जमा आयोजना हुने भएको छ।
आइसिसी यू-१९ महिला विश्वकाप एसिया क्वालिफायरको तयारीका लागि सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण संचालन हुने भएको छ।
क्यानले राष्ट्रिय टोलीका पूर्वकप्तान लेख बहादर क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र शमुर्तजा हवारी सदस्य रहने गरी ३ सदस्यीय राष्ट्रिय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ।
संघको वार्षिक साधारणसभा असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा आयोजना हुने भएको छ।
यस्तै म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृयाबारे संघको अनुशासन समितिबाट प्राप्त प्रतिवेदनका सम्बिन्धमा छलफल गर्दै उक्त प्रतिवेदन एवम् आवश्यक कागजातहरु क्यान इन्टीग्रिटी समितिका संयोजक मार्फत आइसिसी एन्टी करप्सन युनिटीमा पेश गर्ने पनि क्यानले निर्णय गरेको छ।