घरेलु टोली पाकिस्तानविरूद्धको दुई खेलको टेस्ट सिरिज बंगलादेशले ‘क्लिनस्विप’ गरेको छ। मंगलबार राउलपिन्डीमा सकिएको दोस्रो टेस्टमा ६ विकेटको जित निकालेसँगै बंगलादेशले पाकिस्तानविरूद्ध सिरिज २-० ले जितेर 'क्लिनस्विप' गरेको थियो।
बंगलादेशले पाकिस्तानविरूद्ध पहिलो पटक टेस्ट सिरिज जितेको हो।
यसअघि पहिलो टेस्ट जितेर बंगलादेशले पाकिस्तानविरूद्ध टेस्टमा पहिलो जित दर्ता गराउँदै इतिहास रचेको थियो।
बंगलादेशले मंगलबार हात पारेको जित विदेशमा जित हात पारेको तेस्रो सिरिज जित हो। पछिल्लो पटक उसले सन् २०२१ मा जिम्बावेलाई हरारेमा पराजित गरेको थियो।
मंगलबार पाकिस्तानले दिएको १८५ रनको लक्ष्य बंगलादेशले ४ विकेटको क्षतिमा पूरा गर्यो। बंगलादेशका मुस्फिकर रहिमले नटआउट २२ रन र सकिब अल हसनले नटआउट २१ रन बनाए।
त्यसअघि ओपनर जाकिर हसन ४० रन, शदमन इस्लाम २४ रन, कप्तान हुसेन सान्तो ३८ रन र मोमीनुल हक २२ रन जोडेर आउट भएका थिए।
दोस्रो इनिङग्समा घरेलु टोली पाकिस्तान १७२ रनमै अलआउट हुँदा बंगलादेशले १८५ रनको झिनो लक्ष्य पाएको थियो। दोस्रो इनिङ्ग्समा पाकिस्तानका लागि सलमान अघाले सर्वाधिक नटआउट ४७ रन जोडे।
दोस्रो इनिङ्ग्समा पाकिस्तानलाई रोक्न बंगलादेशका हसन मोहमद र नहिद रानाले उत्कृष्ट बलिङ गरे। हसनले ५ विकेट लिए भने रानाले ४ विकेट लिन सफल भए। दुई बलरको उत्कृष्ट प्रदर्शनसँगै घरेलु ब्याटर दबाबमा परेका थिए।
त्यसअघि पहिलो इनिङ्ग्समा पाकिस्तानले २७४ रन र बंगलादेशले २६२ रन जोडेका थिए। पाकिस्तानका लागि समिन अयुबले ५८ रन र कप्तान शान मसूदले ५७ रन रन जोड्दा बलिङमा बंगलादेशका मेहिदी हसले ५ विकेट र टक्सिन अहमेदले ३ विकेट हात पारेका थिए।
पहिलो इनिङ्ग्समा बंगलादेशले ब्याटिङमा भने खराब सुरूवात गरेको थियो। सुरूवाती ६ मध्ये पाँच ब्याटरले दोहोरो अंकमा रन जोडन नसक्दा ओपनर शदमन इस्लामले १० रन जोडेका थिए। ६ ब्याटरले कुल २१ रन जोड्दा संकटमा परेको बंगलादेशका लगि लिट्टन दासले १३८ रन र मेहिदी हसनले ७८ रन जोडेका थिए। दुई खेलाडीको ब्याटिङले बंगलादेशले आफ्नो संकट टारेको थियो।
पहिलो इनिङ्ग्समा बलिङमा पाकिस्तानका खुराम शाहजादले ६ विकेट लिएका थिए।