यस वर्षको जुनमा भएको टी-२० विश्वकप जिताएपछि भारतका मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका राहुल द्रविड २०२५ आइपिएल अघि मुख्य प्रशिक्षकको रूपमा राजस्थान रोयल्समा फर्किने तयारीमा छन्।
द्रविडले हालै राजस्थानसँग सम्झौतामा हस्ताक्षर गरेको क्रिकइन्फोले लेखेको छ। आगामी मेगा अक्स अघि खेलाडी रिटेन्सनको विषयमा द्रविडको टोलीसँग कुरा समेत भएको छ।
द्रविड र राजस्थानका कप्तान सन्जु समसनबीच लामो समयदेखि सम्बन्ध छ। सामसन यू-१९ खेलाडी रहदा दव्रिड प्रशिक्षक थिए।
द्रविडले सन् २०१२ र २०१३ राजस्थानको कप्तानी गरेका थिए। यस्तै २०१४ र २०१५ मा उनी टोलीका निर्देशक र सल्लाहकार थिए।
२०१६ मा द्रविड दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल्स) मा थिए।
राजस्थानले भारतीय पूर्व ब्याट्सम्यान विक्रम राठौरलाई द्रविडको सहायक प्रशिक्षकको रूपमा अनुबन्ध गर्ने सम्भावना छ। भारतका पूर्व चयनकर्ता राठौर २०१९ मा भारतको ब्याटिङ कोच हुनुअघि राष्ट्रिय प्रशिक्षण केन्द्रमा द्रविडको कोचिङ स्टाफको हिस्सा थिए।
राजस्थानले सन् २००८ को पहिलो संस्करणको आइपिएल जितेपछि उपाधि हात पार्न सकेको छैन।