आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली मंगलबार राति क्यानडा प्रस्थान गर्दैछ।
क्यानडा जानुअघि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले यसअघि घरेलु मैदानमा खेलिएको पहिलो सिरिजमा राम्रो नतिजा निकाल्न नसके पनि क्यानडा र अमेरिका हुने दुई सिरिजमा राम्रो खेल्ने विश्वास व्यक्त गरे।
‘क्रिकेट विश्वकप (सिडब्लूसी) साइकलको महत्वपूर्ण सिरिज सुरु भएका छन्। यसअघि घरेलु मैदानमा भएको सिरिजको नतिजाबाट हामी दु:खी छौं। नेदरल्यान्ड्स र नामिबियासँगको सो सिरिजमा हामीले चाहेको जस्तो नतिजा आएन,’ देसाईले भने।
उनले सिरिजका लागि भारतको बेंगलुरु र श्रीलंकामा गरेको तयारी राम्रो भएको समेत बताए।
‘हामीले बेंगलुरुमा धेरै प्रशिक्षकसँग सिक्ने अवसर पायौं। श्रीलंकामा पनि हामीले तयारी गर्न सफल भयौं। वर्षाका कारण सोचे जति तयारी गर्न नपाए पनि एउटा उत्कृष्ट खेल खेल्ने अवसर पायौ। खेलले नेपाली टोलीको अवस्था थाहा भएको छ। हामीले तयारीका लागि स-सना काम गरेका छौं,’ उनले भने, ‘अब हामीले क्यानडा र अमेरिकामा सिरिज खेल्दैछौं। अब राम्रो नतिजा निकाल्न चाहान्छौं। आफ्नो भूमिका र हाम्रो प्रक्रियामा विश्वास गर्छौं। एक अर्कालाई विश्वास गर्ने काम पनि महत्वपूर्ण हुनेछ।’
उनले लिगको सिरिजमा पहिले ब्याटिङ गरेर राम्रो स्कोर बनाउनु पर्ने समेत बताए।
दुई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले जगत टमाटालाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्ति गरेको छ।
नेपाली टोलीमा तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदले पुनरागमन गरेका छन्। टोलीबाट सन्दीप जोरा, सागर ढकाल र आकास चन्द बाहिरिए। यस्तै टोलीमा कमलसिंह ऐरी पनि छैनन्।
क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।
दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ।
नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो।
नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।
क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।
विश्वकप लिग-२ को एकदिवसीय सिरिज
नेपाल भर्सेस क्यानडा – भदौ ३१- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस ओमान – असोज २ गते- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस क्यानडा – असोज ६ गते – नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस ओमान - असोज ८ गते - नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो
टी-२० सिरिज खेल तालिका
नेपाल भर्सेस क्यानडा – असोज १२ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस ओमान – असोज १३ गते - नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस क्यानडा – असोज १५ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस ओमान – असोज १६ गते - नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो
टिम नेपाल
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)