गत असारमा आइसिसी टी-२० विश्वकप खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अन्तर्राष्ट्रिय खेलमा फर्कियो।
यसपटक नेपाल एकदिवसीय खेलमार्फत् अन्तर्राष्ट्रिय खेलमा फर्किएको हो। आइसिसी टी-२० विश्वकपमा नेपालले कुनै खेल जित्न नसके पनि उत्कृष्ट खेल देखाएको थियो। नेपालले टेस्ट टोली दक्षिण अफ्रिका र बंगलादेशलाई दिएको कडा टक्करलाई धैरैले प्रशंसा गरेका थिए।
टी-२० बाट एकदिवसीय फर्म्याटका खेलमा फर्किएको नेपाली टोलीको प्रदर्शन भने सोचे जस्तो हुन सकेन। त्यसो टी-२० विश्वकपसहित नेपालले पछिल्लो सात महिनामा ३० भन्दा बढी औपचारिक टी-२० खेल खेलेको थियो।
पछिल्लोपटक नेपालले गत फेब्रुअरीमा एकदिवसीय खेल खेलेको थियो। फेब्रअरी २५ मा नेदरल्यान्ड्ससँग खेलेपछि नेपाली टोली सात महिनापछि सोमबार एकदिवसीय खेलमा फर्किएको हो।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत सोमबार घरेलु टोली क्यानडाविरूद्धको खेलमा नेपाली टोलीले खराब प्रदर्शन गर्दा १०३ रनको हार बेहोर्यो।
विशेषगरी नेपाली ब्याटरले खराब प्रदर्शन गरे। नेपाली ब्याटर धैर्यपूर्वक ब्याटिङ गर्न सकेनन् भने पूरा ५० ओभरसम्म खेल लम्ब्याउन भूमिका खेलेनन्।
ओपनर कुशल भुर्तेलले क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याउने क्रममा १ रन मात्र जोड्न सके। सुरूवाती केही बलमा प्रहार गर्न नसके उनी सधैं दबाबमा आउने गर्छन्। त्यहि क्रममा उनी सोमबार सस्तैमा आउट भए। आफूले सामना गरेको दशौं बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ९ बलमा केवल १ रन मात्र जोडेका थिए।
चौथो ओभरमा कुशल आउट भएपछि दबाबमा आएको नेपालले आठौं ओभरमा अर्का ओपनरलाई पनि गुमायो। आसिफ शेख २० रनमा आउट भए। उनले ३० बलमा ३ चौका प्रहार गरेका थिए। उनी क्याच हुँदा नेपालले पावरप्ले नसकिदै दुवै ओपनर गुमायो। दुवै जनालाई क्यानडाका डिलोन हेलिगरले सिकार बनाए।
दुवै ओपनर आउट भएपछि नेपाली ब्याटरले धैर्यपूर्वक ब्याटिङ गर्न सकेनन्। जसका कारण नेपालले लगातार विकेट गुमाइ रह्यो। पावरप्लेको अन्तिम बलमा नेपालले आफ्नो तेस्रो विकेटको रुपमा कप्तान रोहिकुमार पौडेललाई ५ रनमै गुमायो। उनलाई पनि हेलिगरले नैर पर्गत सिंहको हातबाट क्याच गराए।
१० ओभरमा नेपालले महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन मात्र जोडेको थियो।
सुरुवाती तीन ब्याटर सस्तैमा आउट भएपनि दबाब बढ्दा भीम सार्कीले पनि इनिङ अघि बढाउन सकेनन्। उनी ३० बल खेल्दा १८ रनमा बनाएर आउट भए। भीम आउट भए पछि नेपालले कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबाट आशा गरेको थियो। तर तीनै जनाले खराब ब्याटिङ गरे। कुशल मल्लले ४१ बल खेल्दा केवल १२ रन जोडे भने कुनै चौका र छक्का प्रहार गर्न सकेनन्। दीपेन्द्रसिंह ऐरी पनि १० बलमा ८ रन बनाएर आउट भए। सोमपाल कामीले २५ बल खेल्दा ६ रन मात्र जोड्न सकेन।
यसरी २५.१ ओभरको खेल जारी रहदा नेपालले महत्वपूर्ण सात विकेट गुमाएको थियो भने ८० रन मात्र जोडेको थियो। त्यसपछि सन्दीप लामिछानेले १६ बलमा २२ रन, गुल्सन झाले २७ बलमा १५ रन र करण केसीले २४ बलमा २७ रन जोड्दा नेपालले १५० रन पूरा गरेको थियो। नेपाल ४०.१ ओभरमा १५० रनमा अलआउट हुँदा खेल १०३ रनले गुमाउन बाध्य भयो।
नेपालमाथि घरेलु टोलीका मिडयम पेसर हेलिगर हाबी भएका थिए। गुयनामा जन्मिएका हेलिगरले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ५ विकेट लिँदा ३१ रन मात्र खर्चिए।
क्यानडाको ओन्टेरियोको किंग सिटीस्थित मेपल लिफ नर्थ-वेस्ट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेको थियो। त्यसपछि पहिले ब्याटिङ गरेको क्यानडाविरूद्ध नेपालले उत्कृष्ट बलिङ सुरुवात गरेको थियो। करण केसीले सुरुवाती ओभरमा कसिलो बलिङ गरेका थिए। जसका कारण क्यानडाले १० ओभरमा २९ रन मात्र जोडेको थियो। १५ ओभरमा ५० रन पूरा गरेको क्यानडालाई १०० रन पूरा गर्न ३०औं ओभरसम्म कुर्न परेको थियो।
तर पछिल्लो दश ओभरमा भने नेपाली बलरमाथि क्यानडाका कप्तान निकोलाश किर्टोन हाबी देखिए। उनले खेलमा नटआउट ७३ रन जोड्ने क्रममा ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए। निकोलासको उत्कृष्ट ब्याटिङमा क्यानडाले नेपालविरूद्ध पछिल्लो १० ओभरमा १०४ रन जोडेको थियो। ४० ओभरसम्म ३ विकेटको क्षतिमा १४९ रन जोडेको क्यानडाका लागि कप्तान निकोलास नायक बनेका थिए।
पछिल्लो पाँच ओभरमा नेपाली बलर खर्चिलो सावित भएका थिए। ४६ ओभरमा नेपालका रोहित पौडेलविरुद्ध क्यानडाले १९ रन जोडेको थियो। ४७ ओभरमा दीपेन्द्रसिंह ऐरीविरुद्ध क्यानडाले १७ रन जोड्दा ४८ ओभरमा सोमपाल कामीले १३ रन र ४९ ओभरमा करण केसीले १५ रन खर्चिएका थिए। यसरी नेपालले चार ओभरको बीचमा ६४ रन खर्चनु डेथ ओभरमा बलिङ असफल हुनुको उदाहरण हो। अन्तिम ओभरमा सोमपालले ५ रन मात्र खर्चिदा नेपाललाई राहत भएको थियो।
क्यानडाविरूद्धको खराब प्रदर्शनसँगै नेपालले लिग-२ मा आफ्नो खराब प्रदर्शनलाई जारी राखेको छ। नेपालले लिग-२ मा पाँच मध्ये चार खेलमा हार ब्यहोरिसकेको छ। यसअघि गत फेब्रुअरीमा घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियाविरूद्धसँगको सिरिजका चार मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो। सो सिरिजका हारेका तीनै खेलमा पहिले ब्याटिङ गर्दा नेपालले कुनै पनि खेलमा २ सय रन कटाउन सकेको थिएन। नेपालले नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा जोडेको १७२ रन सो सिरिजको उच्च स्कोर थियो।