केहीदिन समयअघि मनीषा बोहोरालाई भेट्न म धनगढीको क्रिकेट प्रशिक्षण केन्द्र पुगेकी थिएँ। दुई वर्षयता क्रिकेटमा आफ्नो प्रतिभा देखाइरहेकी उनको बारेमा जान्न चाहन्थेँ। उनी निधारबाट अनुहार हुँदै बगेको पसिना हातले पुछ्दै बाहिर आइन्। मैदानमा घाँसलाई पिरा बनाएर भुईंमा थचक्क बसिन्।
दुई घण्टाको दैनिक क्रिकेट अभ्यासले उनलाई गलाउँछ र थकाउँछ। धनगढी रंगशालामा रहेको क्रिक्रेट प्रशिक्षण केन्द्रमा अभ्यास सकिँदा उनले लगाएको जर्सी निथ्रुक्कै भिजेको थियो। त्यहाँ भिजेको जर्सीलाई ‘ड्रेस चेन्ज’ गर्न कोठा नै छैन।
तराईको चर्काे गर्मीमा दैनिक क्रिकेट अभ्यास कष्टपूर्ण हुने देखेर कतिपयले उनलाई भन्ने रहेछन्- अहो! यत्रो दुःख गरेर किन खेल्नुपर्यो?
उनीहरूलाई दिने धेरै थरी जवाफ उनको मनमा आउँछन्।
‘क्रिक्रेट मेरो सबथोक हो, वर्तमान अनि भविष्य हो। एभ्रिथिङ एन माइ लाइफ्,’ उनले भनिन्।
मनीषाको बुवा उनलाई इन्जिनियर भएको हेर्न चाहन्थे तर उनी खेलमा लागिन्।
मनीषा डोटीको बोगटान फुड्सिल गाउँपालिका–२, गराजुमा जन्मे हुर्केकी हुन्। उनी पहिलो सन्तान हुन्। उनका दुई बहिनी र एक भाइ छन्। बुबा शिक्षक थिए, आमा गृहिणी। मनीषा बुबाले पढाउने स्कुलमै पढ्थिन्। घरबाट स्कुल पुग्न आधा घण्टा हिँड्नुपर्थ्यो।
बुबाआमा बोगटानबाट दीपायल सरेर होटल चलाउन थाले। त्यहाँ करिब दुई वर्ष बसेर बुबाआमा धनगढी गए, करिब दुई वर्ष होटल चलाए।
बुबाआमाको बसाइँसराइसँगै मनीषाको स्कुल पनि सरिरह्यो। अन्ततः उनले दुई वर्षअघि धनगढीकै राष्ट्रिय तुलसी माध्यमिक विद्यालयबाट कक्षा १० पूरा परिन्। बुबाआमाले कैलालीको टीकापुरमा जमिन किनेर घर बनाए। अहिले बसोबास पनि टीकापुरमै छ।
मनीषाले पाँच वर्षअघि स्कुलमा क्रिकेट खेल्न सुरू गरेकी हुन् तर विद्यालयबाहिरका टिम स्तरमा खेलेको दुई वर्ष मात्र हुँदै छ। अभ्यास गर्न नपाएर प्रतियोगिता खेल्न ढिलो भएको उनले बताइन्।
मनीषा २०७६ सालमा ९ कक्षामा पढ्थिन्। धनगढीमा विद्यालयस्तरीय छात्रा क्रिकेट प्रतियोगिता हुने सूचना आयो। क्रिकेट प्रशिक्षक जानकी भट्ट लगायतको टोली उनको विद्यालयमा आएको थियो।
प्रतियोगिताका लागि राष्ट्रिय तुलसी माध्यमिक विद्यालयको छात्रा टिम बन्यो। मनीषा पनि टिममा परिन्।
उनी बायाँ हाते ब्याटर थिइन्। क्रिकेटमा ‘लेफ्टी’ र ‘राइटी’ के हो, त्यही बेला थाहा पाइन्। लेफ्टी भएकाले टिममा आफूलाई प्रशिक्षकले प्राथमिकता दिएको उनको अनुभव छ।
उक्त प्रतियोगितामा धनगढीका धेरै वटा विद्यालय टिमको सहभागिता थियो।
मनीषा आफ्नो जीवनको पहिलो प्रतियोगिता लेख्न लागेकी थिइन्। उद्घाटन खेलमा ४० रन र ४ विकेट लिइन्। त्यो खेलमा ‘म्यान अफ द म्याच’ पनि उनी नै भइन्।
उनले त्यही दिन आफू क्रिकेट खेलाडी हुने टुंगोमा पुगिन्। आफूभन्दा सिनियर क्रिक्रेट खेलाडीहरूसँग सम्पर्क बढाउन सुरु गरिन्।
पहिलो प्रतियोगिता खेलको ठिक एक वर्षपछि मनीषा कैलाली जिल्लाको महिला टिममा छनौट भइन्। जिल्लाको टिमपछि उनी सुदूरपश्चिमको यू–१९ को टिममा परिन्। उनले यो टिममा छोटो समयमै क्षमतावान् खेलाडीका रूपमा परिचित हुँदै छिन्।
गत वर्ष प्रदेशको टिमबाट राम्रो प्रदर्शन गरेपछि मनीषा ‘नेपाल खेलकुद पत्रकार मञ्च, कैलाली’ आयोजना गरेको सुदूरपश्चिम स्पोर्ट अवार्डमा ‘वर्ष खेलाडी’ रूपमा छनोट भएकी थिइन्।
उनले गत वर्ष फागुनमा लुम्बिनी प्रदेशको कोहलपुरमा ‘सुशील कोइराला मेमोरियल यु–१९’ महिला क्रिकेट प्रतियोगिता खेलिन्। उनी खेलाडी रहेको सुदूरपश्चिम प्रदेश टिम विजयी भयो।
‘कोहलपुर मेयर ११’ लाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश च्याम्पियन बन्यो। त्यस खेलमा मनीषा ‘प्लेयर अफ द फाइनल’ घोषित भइन्। उनले ४१ रनको योगदान गरेकी थिइन्।
उनले भनिन्, ‘अहिलेसम्म खेलेका प्रतियोगितामध्ये मैले उत्कृष्ट प्रदर्शन गरेको खेल त्यही (सुशील कोइराला मेमोरियल यु–१९) हो।’
हालसम्ममा मनीषाले कैलाली जिल्लाको टिम र सुदूरपश्चिमको यू–१९ को टिमबाट राष्ट्रियस्तरका एक दर्जन जति प्रतियोगिता खेलेकी छन्।
उनले २०७९ सालमा उनले सुदूरपश्चिमको टिमबाट राष्ट्रियस्तरको यू–१९ छनोट प्रतियोगिता खेलिन्।
नवौं राष्ट्रिय खेलकुद, मैयादेवी मेमोरियल कप, प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता, बागमती कप लगायतका राष्ट्रियस्तरका प्रतियोगिता पनि खेलिसकेकी छन्।
अभ्यास सुरु गरेको छोटो समयमै धेरै वटा प्रतियोगिता खेल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छनौट भए पनि मनीषाले आफ्नो ‘क्रिकेटयात्रा’ प्रारम्भिक चरणमा रहेको मानेकी छन्।
भन्छिन्, ‘भर्खर क्रिकेटको यात्रा सुरु भयो। अब सबै चुनौती पार गर्दै अवसर प्राप्त गर्न अगाडि बढ्नु छ।’
इन्जिनियर बन्नुपर्ने छोरी क्रिकेट खेल्न थालेको सुरूमा आमाबुवालाई मन परेको थिएन। जब उनले खेलमा राम्रो प्रदर्शन गर्न, पुरस्कार र चर्चा पाउन थालिन् त्यसपछि भने उनीहरूको मन पनि फेरिएको छ।
अहिले त उनका आमाबुवामा समेत रमाएर क्रिक्रेट हेर्न थालेका छन्।
मनीषाले विदेशमा श्रम गर्ने आफ्ना बुबाको भनाइ उद्धृत गरिन्, ‘छोरी, तिमीले राष्ट्रिय टिमबाट देशका लागि क्रिकेट खेलेको हेर्ने सपना छ। मिहिनेत गर्नू, राम्रो खेल्नू।’
यता खेलमा सिनियर दाइदिदीहरूबाट पनि धेरै सहयोग पाएको उनले बताइन्।
‘क्रिकेटर नरेन साउद दाइले मलाई धेरै सहयोग गर्नुभएको छ। सुरुमा उहाँले ग्लोभ, ब्याट र बल दिनुभयो,’ उनी भन्छिन्, ‘यस्तो साथले खेल्न बढी जोस आउँछ।’
खेल अभ्यासमा प्रशिक्षक ज्ञानेन्द्र दडीवाना क्षेत्रीबाट राम्रो सहयोग पाएको मनीषाको भनाइ छ।
धनगढी रंगशालाको मैदानछेउमा जस्तापाताले छाएको र नेट लगाएको सानो अस्थायी भवनभित्र दैनिक अभ्यास गर्न पुग्छिन् मनीषा। नेटभित्र ब्याटिङ र बलिङ सिक्छिन्। भवनबाहिरको मैदानको एक भाग क्रिकेट सिक्नेका लागि छुट्याइएको छ।
क्रिकेट अभ्यास गर्न बाहिर र नेटभित्र पनि फराकिलो मैदान चाहिन्छ। यहाँ पर्याप्त मैदान छैन। साँघुरो ठाउँमा अभ्यास गर्न असहज हुने नै भयो। वर्षा हुँदा मैदानमा पानी जम्छ।
मनीषाको अनुभवले भन्छ– छोरी मान्छे खेलाडी बन्न चुनौती पनि धेरै छ।
उनी भन्छिन्, ‘छोरी मान्छे कहाँ जान्छे, के गर्छे, छोरीले खेलेर के हुन्छ र भन्ने सामाजिक धारणा छ। समाजले छोरीलाई खेलाडी बन्न निरुत्साहित गर्छ, कमजोर बनाउने प्रयास गर्छ।’
मनीषा यस्तो सामाजिक धारणाप्रति सचेत छिन्। यस्तो सामाजिक धारणाविरुद्ध उनको अठोट निकै बलियो छ।उनी पढाइका साथ खेलमा अघि बढ्दै छिन्। धनगढीमा उनी प्लस कानून विषय पढ्दै छिन्। उनका लागि क्रिकेट जत्तिकै प्यारो छ पढाइ। उनले कानुनमै स्नातक, स्नातकोत्तर सम्म गर्ने बताउँछिन्। ता कि क्रिकेट खेल्न नसकेको वा छोडेको दिन पढेको विषय काम लागोस्। त्यसैले उनले क्रिकेट खेल र पढाइलाई एक रथका दुई पांग्रा मानेकी छन्।
‘एकातिर खेल्नु त छँदै छ, अर्कातिर पढाइबिना जीवन सम्भव छैन,’ मनीषा भन्छिन्, ‘कलेजमा हुँदा पढाइ मात्र सोच्छु। मैदानमा हुँदा क्रिकेटमा बारेमा मात्रै सोच्छु। मेरा लागि क्रिकेट र पढाइ बराबर महत्त्वका हुन्।’
उनी ‘यू–१९ महिला राष्ट्रिय क्रिकेट’ का लागि प्रतिस्पर्धामा छिन्। केहीसमय अघि दाङमा भएको बन्द प्रशिक्षणमा भने उनी परेकी छैनन्। तर पनि आउने दिनका अभ्यासले टिममा पर्ने विश्वासका साथ मिहिनेत गर्दै छिन्।
राष्ट्रिय टिमबाट खेल्नु र देशलाई जिताउनु उनको सपना र अठोट दुवै हो।