आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले पुनः अमेरिकासँग खेल्दैछ।
अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी स्टेडियममा शनिबार राति सवा ९ बजे नेपालले अमेरिकासँग सिरिजको दोस्रो खेल खेल्न लागेको हो।
कात्तिक १२ गते अमेरिकासँगको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। त्यतिबेला नेपालले २८६ रन बनाएको थियो।
सिरिजको दोस्रो खेलमा भने नेपाल स्कटल्याण्डलाई हराउन सफल भएको थियो। लिग-२ का खेलहरूमा एकपछि अर्को हार ब्यहोरिरहेको सिलसिला तोड्दै नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो।
कात्तिक १४ गते भएको उक्त खेलमा नेपालले स्कटल्याण्डलाई १५४ रनमा अल आउट गरेको थियो।
नेपालले लिग-२ का ८ खेल खेलिसक्दा दुई खेल मात्रै जितेको छ।
यसअघि गत फेब्रुअरी १७ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेपछि नेपाल लिग-२ का सात खेलमा जितविहीन बनेको थियो। ७ मध्ये ६ खेलमा नेपाल पराजित हुँदा १ खेल वर्षाका कारण रद्द भएको थियो।
नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन्।