नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दुई खेलमा हार ब्यहोरिसकेको छ।
बुधबार काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित भएपछि कर्णालीलाई लयमा फर्कन दबाब परेको छ।
भारतीय ब्याटर शिखर धवनलाई भित्र्याएको कर्णाली प्रतियोगिता जित्ने लक्ष्यसहित मैदान उत्रिएको थियो। तर लगातार दुई खेलमा पराजित भएपछि कर्णालीका कप्तान सोमपाल कामी आफूहरूमाथि जिम्मेवारी बढेको बताउँछन्।
‘हामीलाई दबाबभन्दा पनि कसरी लयमा आउने र राम्रो खेल्ने भन्ने जिम्मेवारी बढेको छ,’ काठमाडौंविरूद्ध पराजित भएपछि सोमपालले भने।
काठमाडौंविरूद्ध पहिले ब्याटिङ गरेको कर्णालीले शिखर धवनको नटआउट ७२ रनको मद्दतमा १४९ रन जोडेको थियो। यो योगफल पर्याप्त नभएको आफूलाई लागेको सोमपालले बताए।
‘हामीले यो विकेटमा १०-२० रन कम बनायौं भन्ने पहिले नै लागेको थियो,’ उनले भने, ‘अझ हामीले डेथ ओभरमा राम्रो गर्न सकेनौं।’
खेलमा शिखर धवनले सुरूमा सुस्त ब्याटिङ गरेका थिए। ११ ओभर चलिरहँदा शिखरले २८ बल खेल्दा २१ रन मात्र जोडेका थिए भने एक चौका मात्र प्रहा गर्न सकेका थिए।
‘बिहान ब्याटिङ गर्न गाह्रो हुन्छ। बल ब्याटमा आइरहेको थिएन। तर पनि धनवले एकदमै राम्रो कभर गर्नु भयो,’ उनले भने।
उनले आफूहरूले केही गल्ती गरेको बताउँदै आगामी खेलमा सुधार गर्ने बताए। त्यसमा आफूले पनि क्याच मिस गरेको उनले स्मरण गरे।
‘खेलमा क्याच मिस हुन्छ। धन्य अर्को ओभरमा (इरासमस)आउट भए। क्याच भएको भए दुई छक्का कम खान्थ्यौं र विपक्षीलाई पछि पार्न सक्छौं कि भन्ने हो,’ उनले भने।
धवन हुँदा टोलीको वातावरण राम्रो भएको उनले बताए। उनले मैदानमा त्यस्तै अवस्था रहेको सोमपालको भनाइ छ।
‘धवनले मलाई तिमी शान्त रहेछौं भन्नुभयो। खेलाडीहरूलाई सम्हालेर राख्नुपर्छ भन्ने उहाँको सुझाव छ,’ धनवले खेलका दौरान बताएको कुरा उदृत गर्दै सोमपालले भने, ‘अबदेखि खेलाडीहरूलाई गाली गर्ने प्रायस गर्छु (ठट्टा गर्दै)।’
खेलका लागि धनवसँग बसेर योजना बनाएको पनि उनले सुनाए।
‘मैले यस्तो विकेटमा खेलेको छैन भनेर उहाँले भन्नु भएको छ,’ उनले भने, ‘त्यसैले शीर्ष चार ब्याटरले कसरी लामो इनिङ्ग्स खेल्ने र खेल जित्ने भनेर उहाँले योजना बनाउनु भएको थियो। आज उहाँले त्यस्तै गर्नु भयो।’
धवनको इनिङग्सबाट आफ्नो टोलीमा रहेका युवा खेलाडीले सिक्ने विश्वास सोमपालको छ।
अब कर्णालीका लागि नतिजा निकाल्नु पर्ने अवस्था आएको बताउँदै सोमपालले बाँकी खेल्ने गल्ती सुधार गर्दै राम्रो खेल्ने बताए।