नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले सुरूआती तीनमध्ये दुई खेलमा पराजय भोगेको छ।
बिहीबार सुदूरपश्चिम रोयल्सविरूद्ध ७३ रनको हारसँगै काठमाडौंलाई प्लेअफमा पुग्न दबाब परेको छ।
यसअघि काठमाडौंले कर्णाली याक्सलाई पराजित गरेको थियो। काठमाडौं पहिलो खेलमा भने चितवन राइनोजसँग हारेको थियो।
तीनमध्ये दुई खेलमा पराजित भएपछि काठमाडौंमाथि चुनौती थपिएको प्रशिक्षक बसन्त शाही बताउँछन्।
‘बल्ल तेस्रो म्याच भयो। अब हामी जितकै लागि जाने हो। दुई वटा खेल हारेपछि चुनौती भने थपिएको छ। अब मात्रै चार वटा म्याच बाँकी छन्। प्लेअफमा पुग्न केही नभए पनि तीन वटा त जित्नै पर्छ,’ उनले भने, ‘आज हारेर टाउको निहुँरिएर बस्ने अवस्था कसैलाई छैन। अब ४/५ दिन रेस्ट छ। रिफ्रेसमेन्ट गरेर टिम बन्डिङ गर्छौं। फेरि बलियो भएर फर्कन्छौं।’
उनले पहिलो खेल हारेर दोस्रो खेलमा जित निकाल्दा कमब्याक गरे पनि तेस्रो खेलमा ब्याटिङ गर्न गाह्रो भएको बताए।
‘पहिलो इनिङ्समा जुन किसिमले विकेटमा ब्याटरले खेलिरहेको थिए, जसरी रन लागिरहेको थियो। तर १० ओभरपछि नै गाह्रो भइसकेको थियो। त्यसैले मनमा शंका भइरहेको थियो, विकेटको अवस्था फेरिइरहेको छ भनेर।’
उनले जितको नजिक पुगेर पराजित हुनुभन्दा सुरूदेखि नै प्रहार गर्न ब्याटरले प्रयास गरेको पनि बताए।
सुदूरपश्चिम विरूद्धको खेलमा काठमाडौं १६८ रनको लक्ष्य पछ्याउने क्रममा ९४ रनमा अलआउट भएको थियो।
प्रशिक्षक शाहीले काठमाडौंले ओपनिङमा सुधार ल्याउनु पर्ने बताए।
‘काठमाडौंले वर्कआउट गर्नुपर्ने ओपनिङमा छ। अहिलेसम्म राम्रो सुरूआत गर्न सकेको छैन। बलिङ युनिटले राम्रो गरिरहेको छ। ब्याटिङमा सोचेजस्तो सुरूआत नपाएकाले त्यसमा काम गर्नुपर्ने हुन्छ,’ उनले भने।
खेलमा सुदूरपश्चिमका बलर नरेन साउदले राम्रो प्रदर्शन गरेको पनि बताए।
नरेनबारे उनले भने, ‘नरेनको प्रदर्शन उत्कृष्ट थियो। पिचले साथ पनि दियो।’