सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स लिग चरणबाटै बाहिरिने पहिलो टोली बन्यो।
बुधबार आफ्नो छैटौं खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी अन्तिम खेलअघि नै बाहिरिएको हो।
लुम्बिनीले विराटनगर किंग्सविरूद्धको पहिलो खेलमा १९१ रन जोडेको थियो। आफ्नो पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको लुम्बिनीलाई विजयी सुरूआत गर्ने अवसर थियो। तर लुम्बिनीले खराब बलिङ गर्दा विराटनगरले अन्तिम बल अघि नै लक्ष्य पूरा गरिदियो।
दोस्रो खेलमा पनि लुम्बिनीले पोखरा एभेन्जर्सविरूद्ध १७० रन जोडेको थियो। जबाफी ब्याटिङ गरेको पोखराले लक्ष्य बिनाविकेटको क्षतिमा पूरा गरिदियो। यो खेलमा त लुम्बिनीका बलरविरूद्ध पोखराका ओपनरद्वय दिनेश खरेल र आन्द्रेस गौस हाबी भएका थिए।
तेस्रो खेलमा पनि लुम्बिनीले राम्रो गर्न सकेन। लुम्बिनीविरूद्ध पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले १८७ रन जोडेको थियो। जबाफी ब्याटिङ गरेको लुम्बिनीका ब्याटर दबाबमा आए। सुरूआती ६ मध्ये पाँच ब्याटर दोहोरो अंकमा रन जोड्न नपाई आउट भएका थिए। यद्यपी विवेककुमार यादवको नटआउट ७७ रनको मद्दतमा लुम्बिनीले १४२ रन मात्र जोड्न सक्यो।
यसरी सुरूआती तीन खेलमा लुम्बिनीका बलरले राम्रो खेल्न सकेनन्। विवेककुमार यादव इकोनोमी बलर सावित हुँदा दुर्गेश गुप्ता पनि चल्न सकेनन्।
अस्ट्रेलियाका बेन कटिङ बलिङका लागि फिट हुन नसक्दा पनि लुम्बिनीलाई घाटा परेको देखिन्छ। रेमन सिमन्ड्सले औसत बलिङ गर्दा साद बिन जफर सुरूआती खेलमा चल्न सकेनन्। उन्मुक्त चन्दले पनि ब्याटिङमा योगदान दिन सकेनन्। स्पिनर सूर्य तामाङले पनि सुरूआती खेलमा आफ्नो जादू देखाउन सकेनन्।
दुई खेलपछि रोहित बलिङमा उत्रिएका थिए। उनले त्रिविमै मैदानमा विस्तारै राम्रो बलिङ गर्न थाले। रोहितले अर्का स्पिनर अभिशेष गौतमलाई पनि खेलाए। गौतमले जनकपुर बोल्ट्सविरूद्धको चौथो खेलमा तीन विकेट लिँदा रोहितले दुई विकेट हात पारेका थिए। जसका कारण लुम्बिनीले जनकपुरलाई १३६ रनमा समेटेको थियो। तर यो खेलमा लुम्बिनीको ब्याटिङ चलेन। अन्तिम ओभरमा ९ रन चाहिदा लुम्बिनीले ७ रन मात्र जोड्न सक्यो। जसका कारण लुम्बिनी १ रनले पराजित भयो।
चितवनविरूद्धको पाँचौं खेलमा भने रोहितले अलराउन्ड प्रदर्शन गरे। सुरूआती ब्याटर नचले पनि रोहितले ८० रन जोडेपछि लुम्बिनीले १६७ रन जोड्यो। बलिङतर्फ पनि रोहितले ४ विकेट लिँदा चितवन १३४ रनमा समेटियो र लुम्बिनीले ३३ रनको जित निकाल्यो। यो लुम्बिनीको पहिलो जित थियो।
बुधबार काठमाडौंविरूद्धको छैटौं खेलमा लुम्बिनीको ब्याटिङ र बलिङ दुवै चलेन। जसका कारण १०४ रनको लक्ष्य पछ्याउँदा पनि लुम्बिनी ८५ रनमै अलआउट भयो।
कप्तान रोहित ६ खेलमा २६९ रन जोड्दा ७ विकेट लिएका छन्। उनी सर्वाधिक रन प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा छन्।
रोहित लुम्बिनी एक खेलअघि नै बाहिरिनुको कारण चाहिएको बेला बलिङ र ब्याटिङ नचल्नु भएको बताउँछन्।
‘हामीले सुरूआती खेलमा राम्रो बलिङ गर्न सकेनौं,’उनले भने, ‘पछिल्ला खेलमा राम्रो ब्याटिङ गरेनौं।’