सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्ससँग पराजित भएपछि कर्णालीको फाइनलमा पुग्ने लक्ष्य पूरा हुन सकेन।
लिग चरणमा सुरूआती दुई खेलमा पराजित भएको कर्णाली त्यसपछि लयमा फर्किएको थियो। जसका कारण कर्णालीले लिग चरणमा चौथो हुँदै प्लेअफमा स्थान पक्का गरेको थियो।
इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेपछि कर्णालीले ६ खेलमा ५ खेलमा जित निकालेको थियो। तर फाइनल पुग्ने खेलको भिडन्तमा भने कर्णाली सफल हुन सकेन। समग्रमा कर्णालीले बलिङमा उत्कृष्ट खेल देखाउने टिमको छवि बनाउँदै एनपिएलबाट बाहिरिएको छ।
कर्णालीले निकालेको पाँच जितमा कसैको महत्वपूर्ण योगदान छ भने १६ वर्षीय देब्रे हाते लेगस्पिनर विपिनप्रसाद शर्माको छ।
उनले बिहीबार कीर्तिपुर मैदानमा जनकपुरविरूद्ध ३ विकेट लिए। एनपिएल खेल्न आएका चर्चित खेलाडीमध्येका एक जिमी निशमलाई उनले बोल्ड गरेका थिए। विपिनले बोल्ड गर्नुअघि निशमले १६ बलमा ४५ रन जोड्दा २ चौका र ५ छक्का प्रहार गरिसकेका थिए। तर विपिनले निशमलाई आउट गरेसँगै कर्णालीको आशा पलाएको थियो।
निशमलाई आउट गरेको तीन बलपछि उनले मोहम्मद मोसिनलाई पनि एलबिडब्लूको धरापमा पर्दै एकै ओभरमा दुई विकेट लिँदै खेल रोमाञ्चक मोडमा पुर्याएका थिए। तर अन्तिम ओभरसम्म कर्णालीका अरू बलर चल्न सकेनन्।
विपिनको अर्को राम्रो प्रदर्शन लिग चरणमा चितवन रोइनोजविरूद्ध थियो। सो खेलमा प्लेयर अफ दि म्याच बनेका उनले पाकिस्तानका सोहेल तन्विरसहित नामिबियाका लोफ्टी इटन र अमरसिंह रटेउलाको विकेट लिएका थिए। यस्तै उनले लुम्बिनी लायन्सविरूद्धको खेलमा अस्ट्रेलियाको बेन कटिङको विकेट हात पारेका थिए।
विपिनले लिग चरणमा विराटनगरविरूद्ध दुई विकेट लिने क्रममा अर्का चर्चित क्रिकेटर मार्टिन गप्टिल र लोकेश बमलाई आउट गरेका थिए। यति मात्र होइन, एनपिएलमा अहिलेसम्म शतक प्रहार गर्ने एक मात्र खेलाडी पोखरा एभेन्जर्सका अमेरिकी ब्याटर आन्देश गौसलाई पनि विपिनले पेभिलियन फर्काएका थिए।
आफूले खेलेका आठै खेलमा विकेट लिएका उनको विशेषता विश्व क्रिकेटको चर्चित देशको राष्ट्रिय टोलीबाट खेलेका निशम, गप्टिल, सोहेल र कटिङ जस्ता खेलाडीको विकेट लिनु हो।
कर्णालीको पहिलो खेलमा बेञ्चमा बसेका विपिनले त्यसपछि कर्णालीको टिममा लगातार स्थान बनाए। कर्णालीबाट घरेलु क्रिकेट खेल्ने विपिन ट्यालेन्ट हन्टमार्फत् एनपिएल टोलीमा छानिएका खेलाडी हुन्।
कर्णालीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले छनोटमा उनको प्रतिभा देखेर टोलीमा भित्र्याएको बताएका थिए। उनले सुर्खेतको कर्णाली क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका थिए। सुर्खेतको भेरीगंगाका उनी क्रिकेट सिक्न वीरेन्द्रनगर बस्छन् भने आठ कक्षामा अध्ययनरत छन्।
एनपिएलबाट उदाएका विपिनले आफूले राम्रो प्रदर्शन गरे पनि कर्णालीलाई फाइनलमा पुर्याउन नसकेकोमा दु:ख व्यक्त गरे।
न्युजिल्यान्डका चर्चित अलराउन्डर निशमलाई यसअघि भेट्दा ‘तपाईंको विकेट लिन्छु’ भनेको कुरा पनि उनले सुनाए।
‘अस्ति होटलमा भेट्दा उहाँको विकेट लिन्छु भनेको थिएँ, उहाँले फेन्टास्टिक भन्नु भएको थियो,’ विपिनले भने।
उनले बिहीबार जनकपुरका लागि आक्रामक ब्याटिङ गरेका निशमलाई ४५ रनमा बोल्ड गरेका थिए।
सो विकेटबारे उनले भने, ‘निशम पनि देब्रे हाते भएकाले आक्रामक ब्याटिङ गर्छन् भन्ने थाहा थियो। दोस्रो बल लेग साइडमा दिएको थिएँ। विकेटकिपर वाल्टनले विकेट नछोडी बल फाल भनेका थिए। निशम पनि टिकिरहेका थिए। वाल्टनले भनेअनुसार गरेका कारण विकेट लिएँ।’
यसअघि कर्णालीको टोलीमा भारतीय राष्ट्रिय टोलीका पूर्वओपनर शिखर धवनले पनि खेलेका थिए। धवनसँगै एउटै टोलीमा हुनु राम्रो पक्ष भएको विपिनको भनाइ छ। धवनले पनि आफ्नो टोलीमा एक जना राम्रो स्पिनर भएको भन्दै विपिनको प्रशंसा गरेका थिए।
‘धवनसँग क्रिजमा उभिनु नै हाम्रो ठूलो कुरा हो। उहाँ टोलीमा हुँदा विपक्षी बलरको मनमा प्रश्न आउछ। उहाँले माइन्ड सेटबारे धेरै सिकाउनु भयो,’ विपिनले भने।
प्रतियोगिताका लागि उनले अक्सनमा नगई कर्णालीको ट्यालेन्ट हन्टमा गएर टोलीमा पर्ने योजना बनाएका थिए। त्यही योजना सफल भएको विपिन बताउँछन्। कर्णालीको टोलीमा ट्यालेन्ट हन्ट परेर पहिलो दिन आउँदा नर्भस भएको उनले बताए।
‘पहिलो दिन नर्भस भएको थिएँ। तर सबै दाइले सजिलो बनाउनु भयो। पहिलो अभ्यास गरेपछि राम्रो भयो,’ उनले सुनाए।
कर्णालीको प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुन् भने कप्तान सोमपाल कामी। दुई जनाले आफूलाई विश्वास गर्दै अवसर दिएकोमा उनले धन्यवाद दिए।
प्रतियोगितामा लिएका १३ विकेटमध्ये सबैभन्दा उत्कृष्ट विकेटको विषयमा प्रश्न गर्दा उनले भने, ‘सबै विकेट वेस्ट लाग्यो।’
उनले पहिलो सिजनमा चम्किएपछि आफू नहराउने बताउँदै लामो समय क्रिकेट खेल्ने बाचा पनि गरे।
‘कति क्रिकेटर पहिलो सिजनमा चम्किन्छन् र हराउँछन्। म त्यस्तो हुन चाहँदिनँ। म आफ्नो प्रोसेस फलो गरेर अघि बढ्छु,’ उनले भने।