सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ओपनर लाहिरू मिलन्थाले नटआउट ७५ रन जोडेका थिए।
उनको उत्कृष्ट ब्याटिको सहयोगमा जनकपुरले उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्यो। सो खेलको प्लेयर अफ दि म्याच बनेका ३० वर्षीय देब्रे हाते विकेटकिपर ब्याटर मिलन्था त्यसपछिका खेलमा भने चल्न सकेनन्।
पोखरा एभेन्जर्ससँग ४२ रन जोड्नुबाहेक उनले लिगका अरू खेलमा टोलीका लागि योगदान दिन सकेनन्। टोलीका अरू ब्याटरले योगदान दिँदा जनकपुरले लगातार चार खेल जितेर प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको थियो।
लिग चरणमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदा दोस्रो बनेको जनकपुरको ब्याटिङ पहिलो क्वालिफायरमा पनि ठिक हुन सकेन। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको जनकपुरले दोस्रो क्वालिफायरको अवसर पायो। पछिल्ला चार खेलमा निशमको ब्याटिङमा निर्भर बनेको जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्लासई पराजित गर्दै फाइनल पुगेको थियो। उपाधि नजिक पुगेपछि जनकपुरको मुख्य चिन्ता ओपनर चल्न नसक्नु थियो।
शनिबार सुदूरपश्चिमसँग उपाधि भिडन्तमा जनकपुरले १८५ रनको विशाल लक्ष्य पाएको थियो। यो लक्ष्य ओपनरमै निर्भर थियो र जितको आधार ओपनरले नै तयार गर्नु पर्ने चुनौती थियो। त्यो चुनौती ओपनरले पूरा गर्दा जनकपुरले पहिलो संस्करणको उपाधि जितेर इतिहास बनाएको छ।
सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्दा कसैको महत्वपूर्ण योगदान छ भने त्यो ओपनर मिलन्थाकै छ। उनले खेलमा ८७ रन जोडेपछि जनकपुरले १८५ रनको बलियो लक्ष्य सहजै पूरा गरेको थियो।
४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका मिलन्था फाइनल खेलमा पनि प्लेयर अफ दि म्याच बने। पहिलो र अन्तिम खेलमा प्लेयर अफ दि म्याच बनेर एनपिएलको सिजन टुंगाएका मिलन्थालाई कप्तानको भूमिका रहेका आसिफ शेख, मोहमद मोहसिन र हर्ष थाकरले गतिलो साथ दिएका थिए। ३३ रन जोडेका आसिफले मिलन्थासँग पहिलो विकेटका लागि ७ ओभरमा ७३ रनको साझेदारी गरेका थिए। यस्तै मोहसिनले मिलन्थासँग दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए। दुवै ब्याटरले अर्को इन्डबाट मिलन्थालाई गलितो साथ दिँदा जनकपुर बलियो बन्दै गएको थियो। यस्तै मिलन्थाले थाकरसँग तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए।
जनकपुरलाई जिताउन महत्वपूर्ण योगदान दिएपछि मिलन्थाले खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए।
‘यो इनिङ्ग्सलाई ब्याख्या गर्न मसँग कुनै शब्द नै छैन। यो श्रेय मलाई पनि होइन मेरो टोलीका सबै खेलाडी, व्यवस्थापन र सपोट स्टाफलाई जान्छ,’ उनले भने।
पावरप्लेमा जनकपुरले ७१ रन जोड्न सफल भएको थियो। पावरप्लेको भरपुर सदुपयोग गर्ने आफूहरूको योजना सफल भएको मिलन्थाले बताए।
उनले भने, ‘हाम्रो लागि केही गुमाउनु थिएन। हामीलाई फाइनल जित्नु छ भने पावरप्लेको उपयोग गर्नुपर्थ्यो। पछिल्ला चार खेलमा हामी जिमी निशममै भर पर्नु परेको थियो। म र आसिफबीच पावरप्लेको राम्रो सदुपयोग गर्नु कुरा भएको थियो। उसले पनि राम्रो ब्याटिङ गरेर साथ दियो।’
दुई वर्षअघि विवादित नेपाल टी-२० खेल्न नेपाल आएका मिलन्थाले लुम्बिनी अलस्टार्सबाट खेलेका थिए। त्यतिबेला पनि उनले लुम्बिनीलाई उपाधि दिलाउने योगदान दिएका थिए।
अघिल्लो वर्षको तुलनामा अहिलेको एनपिएल सफल भएको बताउँदै मिलन्थाले नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे।
‘लिग एकदमै सफल भएको छ। मैले विश्वभरबाट सन्देशहरू पाइरहेको छु। कफी सप र एयरपोर्टमा पनि सन्देश पाएको छु। यो नेपाल क्रिकेटका लागि एकदमै राम्रो सुरूवात हो,’ उनले भने।
कीर्तिपुरमा शनिबारको पिच ब्याटिङका लागि उत्कृष्ट देखिदा मिलन्थाले त्यसको सदुपयोग उत्कृष्ट ढंगबाट गरेका थिए। हरेक ओभरमा बाउन्ड्री प्रहार गरेका उनी सम्हालिएर ब्याटिङ गर्दै स्ट्राइक रोटेड पनि गरिरहेका थिए।
अन्तिम खेलमा आफू लयमा फर्किएका मिलन्थाले जनकपुरलाई च्याम्पियन बनाउन सफल भए, अनि पहिलो सिजनको सर्वाधिक रन बनाउने ब्याटरको शीर्ष स्थानमा रहे। उनले १० खेलमा कुल २९३ रन जोडे। जसमा पहिलो र अन्तिम खेलमा बनाएका दुई अर्धशतक सामेल छन्।
श्रीलंकामा जन्मिएर त्यहिँ क्रिकेट सिकेका मिलन्था सन् २०२० मा अमेरिकामा गएका थिए। श्रीलंकन राष्ट्रिय टोलीमा पर्ने सम्भावना कम भए पछि उनले अमेरिकामै क्रिकेट खेलिरहेका छन्। अमेरिकाको मेजर क्रिकेट लिगमा उनले गत सिजन वासिङटन फ्रिडमबाट खेलेका थिए।
त्यसअघि उनले श्रीलंकाको ‘ए’ टोली र इमर्जिङ टोलीबाट खेलेका थिए। सन् २०२० को सिजनसम्म उनले श्रीलंकाको घरेलु क्रिकेट खेलेका थिए। श्रीलंकामा सन् २०१७-१८ को प्रिमियर लिमिटेड ओभर प्रतियोगितामा उनी उत्कृष्ट ब्याटर समेत घोषित भएका थिए। त्यसपछिको सिजनमा उनले एउटा खेलमा दोहोरो शतक समेत प्रहार गरेका थिए।
अलराउन्डरको रूपमा आफ्नो क्रिकेट यात्रा सुरू गरेका उनले कलेजस्तरदेखि विकेटकिपरको ब्याटरको भूमिकामा आफूलाई बदेलेका थिए।
श्रीलंकामा ६६ वटा पहिलो श्रेणीको क्रिकेट खेल खेलेपछि उनी सन् २०२० मा अमेरिका बसाइ सरेका थिए। आफ्नी श्रीमतीसहित उनी सुरूमा नर्थ क्यारोलिना पुगेका थिए। पहिलो सिजन माइनर लिग खेल्दा उनीसँगै ६ जना श्रीलंकामूलका क्रिकेटर त्यहाँ आबद्ध थिए।