आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ।
शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान भिजेका कारण खेल रद्द भएको हो।
मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो।
तर बिहानैदेखि वर्षा भएपछि निर्धारित समयमा खेल सुरू हुन सकेन। वर्षा रोकिए पनि मैदान चिसो भएकाले दिउँसो २ बजेसम्म खेल प्रतिक्षा गरिएको थियो।
यद्यपि घाम नलागेपछि मैदान सुक्न नपाउँदा खेल नै रद्द गरिएको हो।
खेल रद्द भएसँगै नेपाल यू-१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ। आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्नका लागि नेपाललाई अवसर थियो।
प्रतियोगितामा अफगानिस्तान र नेपाल दुवैले युएई, हङकङ र ओमानलाई पराजित गरेको थियो।
दुवै टोलीले तीन-तीन खेल जिते पनि रन रेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा थियो।
खेल रद्द भएपछि शीर्ष स्थानमा कायम रहँदै उसले विश्वकपमा स्थान सुरक्षित गरेको छ भने नेपालले विश्वकप खेल्नसक्ने अवसर गुमाएको छ।
पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो।
आइसिसी यू-१९ विश्वकपम आगामी वर्ष जिम्बावेमा हुँदैछ।