आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा बुधबार नेपालले दोस्रो खेल खेल्दैछ।
स्कटल्यान्डको डन्डीमा पौने चार बजे सुरू हुने खेलमा नेदरल्यान्ड्सले नेपालविरूद्ध टस जितेर ब्याटिङ रोजेको छ।
खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। स्कटल्यान्डविरूद्ध टोलीमा रहेका तीव्र गतिका बलर रिजन ढकालको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो।
एकदिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म पाँच खेल भएका छन्। जसमा नेदरल्यान्ड्सले तीन खेल जितेको छ भने दुई खेलमा नेपाल विजयी भएको छ।
नेपाल र नेदरल्यान्ड्सबीचका एकदिवसीय खेल
• नेदरल्यान्ड्स ८ विकेटले विजयी (७३ बल बाँकी छँदा) २५-फेब्रुअरी-२०२४ - कीर्तिपुर
• नेपाल ९ विकेटले विजयी (२०८ बल बाँकी छँदा) १७-फेब्रुअरी-२०२४ – कीर्तिपुर
• नेदरल्यान्ड्स ७ विकेटले विजयी (१३७ बल बाँकी छँदा) २४-जुन-२०२३ - हरारे
• नेपाल १ रनले विजयी ०३-अगस्ट-२०१८ - एम्स्टर्डम
• नेदरल्यान्ड्स ५५ रनले विजयी ०१-अगस्ट-२०१८ - एम्स्टर्डम
स्कटल्याण्डलाई हराएसँगै नेपाल ८ अंक जोडेर अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ। युएईको ६ अंक छ।
२० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ। २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ।
चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ। समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ। नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।