आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र अमेरिकाबीच दुबईमा त्रिकोणात्मक एकदिवसीय सिरिज जारी छ।
सिरिजमा अमेरिकाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। अमेरिकाले सुरूवाती तीन खेलमा जित निकालिसकेको छ।
अमेरिकाले नेपालविरूद्धका दुवै खेल जित्दा युएईलाई पनि पहिलो खेलमा हराएको थियो।
सिरिजको आफ्नो चौथो खेलमा अमेरिकाले उत्कृष्ट ब्याटिङ गरेको छ। दुबईमा सोमबार टस जितेको युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ३ विकेटको क्षतिमा २९२ रन जोडेको छ।
कुनै समय सात ओभरमा ३ विकेट गुमाएको अमेरिकाले त्यसपछि भने कुनै विकेट नगुमाइ युएईविरूद्ध ब्याटिङ गर्यो।
अमेरिकाका लागि सइतेजा मुकामल्ला र मिलिन्द कुमार दुवैले शतक प्रहार गरे। मुकामल्लाले नटआउट १३७ रन र मिलिन्दले नटआउट १२३ रन बनाए। दुईबीच चौथो विकेटका लागि अविजित २६४ रनको साझेदारी भयो। यो एकदिवसीय खेलमा चौथो विकेटका लागि दोस्रो सर्वाधिक साझेदारी हो। अमेरिका लागि भने कुनै पनि विकेटका लागि सर्वाधिक रनको साझेदारी हो।
जारी सिरिजमा मिलिन्दले यसअघि तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका थिए।
आजको शतकसँगै जारी लिग-२ मा मिलिन्द कुमारले एक हजार रन पूरा गरेका छन्। सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका उनले अब शीर्ष ब्याटर जर्ज मुन्सेलाई भेट्न २१ रन मात्र टाढा छन्।
मुन्सेले १ हजार ३७ रन जोड्दा मिलिन्दले १ हजार १६ रन बनाएका छन्। यता मुकामुल्ला पनि सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन्। उलने ८७४ रन बनाएका छन्।