आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाललाई स्टकल्यान्डले ३२४ रनको लक्ष्य दिएको छ।
स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ६ विकेटको क्षतिमा ३२३ रन बनायो।
डन्डीमा घरेलु टोलीका लागि कप्तान रिची बेरिङटन र माइकल लिस्कले उत्कृष्ट ब्याटिङ गरे। उनीहरुबीच छैटौं विकेटका लागि १२५ रनको साझेदारी हुँदा स्कटल्यान्ड ३ सय रनतर्फ अघि बढेको थियो।
बेरिङटनले शतक प्रहार गरे। उनी १०२ रन बनाएर रनआउट भएका थिए। उनले ११४ बल खेलेर ६ चौका र ४ छक्का प्रहार गरे। उनलाई ४८औं ओभरमा दुई रन लिने क्रममा गुल्सन झाको थ्रोमा आसिफ शेखले रनआउट गरे।
लिस्कले नटआउट ९६ रन बनाउने क्रममा ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरे।
अन्तिम ओभरमा करण केसीलाई लगातार तीन छक्का प्रहार गरेका मार्क वाटले ९ बलमा नटआउट २१ रन बनाए।
त्यसअघि ओपनर जर्ज मुन्सी शून्य र ब्रेन्डन मक्मेलन ५ रनमा आउट भए। दुवैलाई नेपालका करण केसीले पहिलो पावरप्लेको ६ ओभरभित्र आउट गरेका थिए।
ओपनिङ ब्याटर चार्ली टियर ६८ रन बनाएर खेलिरहदा ललितनारायण राजवंशीबाट बोल्ड भएका थिए। दीपेन्द्रसिंह ऐरीले फिनले म्याकक्रेथलाई १७ रन र म्याथ्यु क्रसलाई ३ रनमा आउट गरे। दीपेन्द्रले फिनलेलाई उत्कृष्ट कट एन्ड बउल्ड गरेका थिए।
बलिङमा नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। करणले २ मेडन राखे पनि ९ ओभरमा ७४ रन खर्चिए। दीपेन्द्रले ७ ओभरमा ३७ रन दिए।
ललित राजंवशीले १० ओभरमा १ विकेट लिँदा ४१ रन खर्चिए।
सन्दीप लामिछाने भने चल्न सकेनन्। उनले १० ओभर बलिङ गर्दा कुनै विकेट लिन सकेनन्। खेलमा सन्दीपले ६९ रन खर्चिँदा ५ चौका र ३ छक्का दिएका थिए। मध्य ओभरमा उनी महँगो सावित हुँदा स्कटल्यान्डको रनले गति लिएको थियो।
विकेट लिन नसकेका सोमपाल कामी सबैभन्दा महँगो सावित भए। उनले ९ ओभरमा ७५ रन खर्चिए।
सिरिजका यसअघिका सुरुवाती खेलमा नेपाल विजयी भएको थियो। नेपालले स्कटल्यान्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो। स्कटल्यान्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो।
नेपालले सिरिजको अन्तिम खेल पुनः नेदरल्याण्डसँग आगामी बिहीबार खेल्नेछ।
लिग-२ को अंक तालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा छ। नेपालले अहिलेसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ।
शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ। दोस्रो स्थानमा नेदरल्यान्ड्स छ। उसले २२ खेलबाट २६ अंक जोडेको छ।
त्यस्तै तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक, चौथो स्थानकोस्कटल्यान्डले १८ खेलबाट २२ अंक र पाँचौं स्थानको क्यानडाले २० खेलबाट २० अंक जोडेको छ।
नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २० खेलबाट १४ अंक जोडेको छ।