भलिबल खेलाडी बलदेव धामीकी आमाले यो संसार छोड्ने बेला भनेकी थिइन्– बाबु गलत बाटो नहिँड्नू; दारू, चुरोट नखानू; भलिबलमा धेरै मिहिनेत गर्नू; जे गर्नु छ आफ्नै देशमा गर्नू; नाम कमाउनू!
जिन्दगीमा भलिबल खेल्नु उनको सपना हो; अठोट, संघर्ष र पसिना हो।
'अलिकति पीडा पनि हो,' उनले भने, 'आमाको अन्तिम उपदेशलाई मैले मनमतिष्कमा सजाएको छु जसले शान्त बनाउँछ, उर्जा दिन्छ।'
राष्ट्रिय टिमबाट खेल्ने र अन्तर्राष्ट्रियस्तरमा नेपाली राष्ट्रिय भलिबल टिमलाई जिताउने उनको सपना छ।
‘हरेकपटक कोर्टमा स्पाइक हान्दा बज्ने तालीले म उत्साहित भएँ। त्यही ऊर्जाले मैले भलिबलमा आफ्नो नयाँ जिन्दगी र उज्यालो भविष्य देखें,’ बलदेव भन्छन्, ‘एपिएफबाट राष्ट्रिय टिममा पुग्ने र देशका लागि खेल्ने मेरो लक्ष्य हो।’
बलदेव दार्चुलाको मालिकार्जुन गाउँपालिका–३, प्रेमनगरका स्थायी बासिन्दा हुन्। हालै सशस्त्र प्रहरी बलको विभागीय टिम एपिएफमा आबद्ध भएका छन्। त्यसपछिका तीन महिना काठमाडौं छन्।
एपीएफमा आबद्ध भएपछि उनले लगातार २५ दिन दैनिक करिब तीन घण्टा भलिबलअभ्यास गरे। त्यही क्रममा देब्रे गोडामा चोट लाग्यो। अहिले काठमाडौंको एपीएफ अस्पतालमा उपचार हुँदै छ।
अब एक महिनामा खेल अभ्यासमै फर्किंने उनको अपेक्षा छ। उसो त भलिबल खेल्ने क्रममा उनी पहिलोपटक पटक घाइते भएका होइनन् तर ठूलो चोट लागेको यसपालि हो। ।
सुदूरपश्चिम प्रदेशबाट धेरै जना भलिबल खेलाडी उत्पादन भए तर खेलमा पूरा अवधि टिक्न सकेनन्। राष्ट्रिय टिमबाट खेलेर चर्चा पाएकाहरू पनि ‘खेलमा भविष्य छैन’ भन्दै विदेश पलायन भए। कोही भिसा पर्खेर बसेका छन्।
यस विपरीत बलदेवले भलिबलमै आफ्नो भविष्य उज्यालो देखेका छन्। उच्च मनोबलका साथ खेलमा समर्पित छन्।
‘भलिबल खेलेर करोडौं कमाउन सकिँदैन होला, निरन्तरता दिन र राम्रो खेल्न सके देशको इज्जत बढाउन र आफ्नो नाम कमाउन सक्छु,’ उनी भन्छन्, ‘विदेश जाने सोच छैन। राष्ट्रिय टिममा पर्न मिहिनेत गर्छु। आफ्नो देशका लागि खेल्छु।’
उनका बुबा गाउँमा चियानास्ताको पसल चलाउँछन्। खेतीपाती पनि गर्छन्। आमा बितेको दुई वर्ष भयो। परिवारमा बुबा, बलदेव र उनका भाइ छन्। भाइ कक्षा १२ मा पढ्दै छन्।
बलदेवले १२ कक्षासम्म गाउँकै मालिकार्जुन माध्यमिक विद्यालयमा पढे। पढ्दापढ्दै भलिबल खेलमा लागे। उनका अनुसार सुरूमा बुबाले राम्रो मानेका थिएनन्; खेलेर हुँदैन, पढ्नुपर्छ भन्थे।
खेल्न नछाडेपछि बुबा पनि सहमत भए, खेल्न प्रोत्साहित गरे।
आफू भलिबलमा भविष्य बनाउन लागेका बेला आमा गुमाउनु पर्दा बलदेवलाई असह्य पीडा भए पनि उनले आमाको उपदेश शिरोपर गरेका छन्। मातृवियोगको पीडामा त्यही उपदेश उनका लागि ऊर्जा भएको छ।
उनले भलिबल खेल्न आमाको सहयोग पाएका थिए। पहिलोपटक आमाले नै भलिबल किनिदिएकी थिइन्। खेल्न जाँदा खर्च दिने पनि उनै थिइन्।
दिउँसो विद्यालय जाने र बिहानबेलुका पसलमा बुबालाई सहयोग काम सघाउँदै बलदेवको बाल्यकाल बित्यो। आमा घरको काम गर्थिन्।
यसरी पुगे एपिएफमा
बलदेवको विद्यालयका ठूला विद्यार्थीहरू भलिबल खेल्थे। उनी कोर्टबाट बाहिर गएको भलिबल टिपेर ल्याउन पाउँदा औधी खुसी हुन्थे। स्थानीय स्तरमा हुने भलिबल प्रतियोगिता हेर्न जान्थे।
सात कक्षामा पढ्दै गर्दै उनले हावा फुस्केको एउटा भलिबल फेला पारे। त्यसलाई टालटुल गरेर आफ्नै उमेरका साथीहरूसँग आफ्नै पाराले खेल्न थाले। अलिकपछि आमाले एउटा भलिबल किनिदिइन्।
नयाँ भलिबल पाएपछि बलदेवको खुसीको सीमा रहेन्। त्यही खुसीले उनलाई नै टोलको खेलाडी बनायो। मिल्ने साथीहरू जम्मा भएर खेल्थे।
२०७५ सालमा उनी १० कक्षामा पढ्दै थिए। उनको गाउँपालिकाले विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ आयोजना गर्यो। उनको विद्यालयले १८ वर्षमुनिका खेलाडीको टिम बनायो। त्यो टिममा बलदेव पनि परे।
उक्त प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा विद्यालय सहभागी थिए। बलदेवको विद्यालय तेस्रो भयो। अब भने बलदेव पक्क खेलाडी भए।
पहिलोपट गाउँपालिकास्तरको प्रतियोगिता खेल्न पाएर उनी निकै खुसी भए। त्यसपछि मालिकार्जुन गाउँपालिकाको भलिबल टिम बन्यो। त्यो टिममा उनी पनि परे।
लगत्तै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल खेल्न बलदेव पनि रहेको मालिकार्जनको टिम दार्चुलाकै मार्मा गाउँपालिका गयो। त्यहाँ टिमले राम्रो प्रदर्शन गर्न सकेन तैपनि जिल्लास्तरमा खेल्न पाउँदा उनी खुसी भए।
त्यसको सात महिनापछि मालिकार्जुन क्लबले खुला भलिबल प्रतियोगिता आयोजना गर्यो। त्यसमा बलदेवले आयोजक टिमबाट खेल्न पाए। आयोजक टिम दोस्रो भयो, बलदेव बेस्ट स्पाइकर ठहरिए।
त्यसपछि २०७६ सालमै स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भयो। त्यसमा बलदेवले मालिकार्जुन माध्यमिक विद्यालयको टिमबाट खेल्न पाए। खेल उनकै टिमले जित्यो। उत्कृष्ट खेलाडी पनि उनै घोषित भए।
उत्कृष्ट खेलाडी भएर पाएको ट्रफी, पदक र प्रमाणपत्रले भलिबलमा खेलमा उनको आत्मविश्वास र अठोट झन् बलियो भयो।
त्यही समय कोभिड–१९ फैलियो, लकडाउन भयो। खेल गतिविधि ठप्प भयो। करिब डेढ वर्षपछि २०७८ सालमा बलदेवले सुदूरपश्चिम प्रदेशको धनगढीमा दार्चुलाको टिमबाट प्रथम प्रदेशस्तरीय भलिबल प्रतियोगिता खेल्न पाए।
त्यो प्रतियोगिता बलदेव निकै खुसी थिए तर उनको टिम अघि बढ्न सकेन। सुरूका तीन खेलमा दुई खेल हारेर बाहिरियो। उनी दुःखी भए।
उनले भने, ‘पहिलोपटक आफ्नो जिल्लाबाहिर गएर प्रदेशस्तरमा खेल्न पाउँदा धेरै खुसी लागेको थियो तर आफ्नो टिमले हारे पछि सुरूमै नराम्रो लाग्यो।’
हारले मन नरमाइलो भए पनि उनले प्रदेश प्रदेशस्तरका अनुभवी खेलाडीहरूसँग खेल्न पाए, उनीहरूको खेल हेर्न र केही सिक्न पाए।
प्रतियोगिताबाट बाहिरिए पनि बलदेव प्रदेश टिमको क्याम्प (बन्द प्रशिक्षण) मा परे। एक महिना चलेको क्याम्पमा उनले पहिलो पटक प्रशिक्षकबाट भलिबल सिक्ने अवसर पाए।
त्यो प्रशिक्षण उनका लागि ठूलो अवसर थियो, नयाँ सिकाइ भयो तर क्यान्सर रोगी आमाको उपचारमा खट्नु परकाले प्रशिक्षणमा राम्रो प्रदर्शन गर्न सकेनन्। प्रशिक्षणबाट सुदूरपश्चिम टिममा पर्ने उनको लक्ष्य पूरा भएन।
उनले भने, ‘टिममा पर्न नसक्नुमा मेरै कमजोरी थियो। पारिवारिक समस्याले गर्दा प्रशिक्षणमा पूरा ध्यान दिन सकिनँ। त्यही बेला हातमा चोट पनि लाग्यो।’
त्यो असफलताले उनको खेल रोकिएन धेरै ठाउँमा प्रतियोगिता खेले। गोरखामा आयोजित खुला भलिबल प्रतियोगितामा आयोजक टिमबाट खेले। त्यही टिमले उपाधि जित्यो। उनी बेस्ट स्पाइकर घोषित भए।
आमाको उपचार सफल भएन, २०७९ साल मंसिरमा उनलाई मातृशोक आइलाग्यो।
मातृवियोगको पाँच महिनापछि बलदेवले काठमाडौंमा ‘पोष्टबहादुर बोगटी राष्ट्रिय भलिबल प्रतियोगिता’ खेले। प्रतियोगितामा तीनवटा विभागीय र दुईवटा प्रदेश टिम सहभागी थिए। उनी सुदूरपश्चिम टिममा थिए।
फेरि पनि उनी सुदूरपश्चिम टिमको क्याम्पमा परे। प्रशिक्षण लगत्तै कोशी प्रदेशमा भएको ‘प्रथम मुख्यमन्त्री कप’ मा सुदूरपश्चिमको टिमबाट खेले। उनको टिम सेमिफाइनलसम्म पुग्यो।
२०८० मंसिरमा धनगढीमा सुदूरपश्चिम प्रदेशको छनोट खेल थियो। उनलाई छनोट नहुने हुँ कि भन्ने चिन्ता लागेको थियो। यसपालि पनि छनौट नभए खेल्न छाड्नु पर्ला भन्ने सोच्न थालेका थिए तर उद्देश्य पूरा भयो।
उनले भने, ‘प्रदेशको टिममा छनोट नभए खेल्नुको अर्थ हुने थिएन। छनौट नभए खेल क्षेत्र छाड्ने सोचमा थिएँ। छाडेपछि के गर्ने भन्ने चिन्ता थियो।’
धन्य! त्यस्तो विपरीत स्थिति भएन।
टिममा परेपछि धनगढीमा डेढ महिना क्याम्प चल्यो। क्याम्पले बलदेवको खेलमा राम्रो सुधार भयो। क्याम्पपछि उनले कर्णाली प्रदेशको सुर्खेतमा भएको चौंतीसौं ‘राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता’ मा सुदूरपश्चिमको टिमबाट खेले।
त्यसपछि सुदूरपश्चिम खेलकुद परिषदले महेन्द्रनगरमा आयोजना गरेको ‘तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता’ खेले।
लुम्बिनी प्रदेशको बुटवलमा पनि एउटा खेले। मुख्यमन्त्री कप खेल्न कोशी प्रदेशको संखुवासभा पनि पुगे। खेल उनको टिमले जित्यो, म्यान अफ द म्याच पनि उनी नै भए।
बलदेवले काठमाडौंमा भएको आठौं ‘एनभिए कप’ मा सुदूरपश्चिमको टिमबाट खेले। उनको टिममा तीन जना विदेशी खेलाडी पनि थिए। चितवनमा आयोजित ‘प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता’ उनी सहभागी सुदूरपश्चिमको टिम तेस्रो भयो। त्यसमा उनले ‘बेष्ट सर्भर’ पुरस्कार जिते।
यसरी अनेक प्रतियोगिता खेलेर बलदेव विभागीय टिम एपीएफमा पुगेका हुन्। आर्मी क्लबमा पनि कुरा भएको थियो, अन्ततः एपीएफमा आबद्ध भए।
उनले भने, ‘एपिएफको टिममा सुदूरपश्चिमका साथीहरू पनि थिए। उनीहरूकै संगतले पुगें।’
उनले हाल एपिएफबाट डाइट, खाना, आवास र मासिक भत्ता पाउने सम्झौता छ। उनले भविष्यमा ‘जागिरे खेलाडी’ हुने अपेक्षा गरेका छन्।
एपिएफका प्रशिक्षक लाल बटालाका अनुसार बलदेव भलिबलमा उदीयमान खेलडी हुन्। उनको अनुशासन र आत्मविश्वास निकै बलियो छ।
उनी भन्छन्, ‘बलदेव राम्रो खेलाडी हो। अनुशासित छ। भलिबलमा निकै निकै राम्रो गर्न सक्छ।’
बलदेवले घरबाट खर्च नलिएको दुई वर्ष भयो। आफ्नो खर्च आफैले पुर्याउन सकेका छन्।
देश जिताउने लक्ष्य
विभागीय टिममा परेपिछको उनको अठोट छ राष्ट्रिय भिलबल टिममा पुग्ने। एपीएफबाट राष्ट्रिय टिममा पुग्नु र अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो देशलाई विजयी बनाउनु उनको लक्ष्य हो, सपना हो। यही नै उनको जीवनको सफलता हुनेछ।
भन्छन्, ‘राष्ट्रिय टिमबाट खेलेर देशलाई जिताएपछि मेरी आमाको पनि सपना पूरा हुनेछ।’