सुदूरपश्चिम रोयल्सले बिहीबार नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्यो।
काठमाडौं गुर्खाजविरूद्धको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले उत्कृष्ट ब्याटिङ गरे। उनले ३६ बलमा ५३ रन प्रहार गरे। त्यसका लागि उनले ३ चौका र ४ छक्का प्रहार गरे।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले जोडेको ४३ रन पनि महत्वपूर्ण सावित भयो। दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
मक्मलेन र दीपेन्द्रको उत्कृष्ट ब्याटिङको मद्दतमा सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।
जबाफमा ब्याटिङमा उत्रिएको काठमाडौंविरूद्ध सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट खेल देखायो। दोस्रो ओभरदेखि विकेट लिन थालेको सुदूरपश्चिमले काठमाडौंलाई १५.५ ओभर मात्र टिक्न दियो। काठमाडौं मात्र ९४ रनमा अलआउट हुँदा सुदूरपश्चिमले ७३ रनको जित निकाल्यो।
काठमाडौंलाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका युवा बलर नरेन साउदले उत्कृष्ट बलिङ गरे। उनले पाँच विकेट लिँदा १९ रन मात्र खर्चिए। जारी एनपिएलमा उनी पाँच विकेट लिने दोस्रो बलर हुन्। यसअघि चितवनका पाकिस्तानी बलर सोहिल तन्विरले एकै खेलमा पाँच विकेट लिएका थिए।
नरेनले खेलमा काठमाडौंका सबैभन्दा बढी रन प्रहार गरेका स्टेफन इस्किनाजी ३७ रनमा आउट गरे। यस्तै, उनले गेरार्ल्ड इरासमलाई पनि १० रनमा एलबिडब्लूको धरापमा पारेका थिए। आफ्नो तेस्रो विकेटको रूपमा उनले रसिद खानलाई रोहन मुस्ताफाबाट १४ औं ओभरमा क्याच गराए।
१६ औं ओभरमा उनले दुई विकेट लिँदा काठमाडौं ९४ रनमै अलआउट भयो। उनले सो ओभरमा करण केसी र शाहब आलमलाई १-१ रनमै क्याच गराएपछि सुदूरपश्चिमले लगातार दोस्रो खेलमा जित निकाल्न सफल भयो।
नरेन हिजो मात्र एसिसी यू-१९ एसिया कप खेलेर युएईबाट नेपाल फर्किएका हुन्। एसिया कपका कारण उनले सुदूरपश्चिमको पहिलो खेल गुमाएका थिए।
हिजो नेपाल फर्किएपछि उनले आज टोलीका लागि महत्वपूर्ण प्रदर्शन गरे अनि प्लेयर अफ दि म्याच भए।
उनले मंगलबार एसिया कपमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गर्दा टोलीका लागि सर्वाधिक स्कोर बनाएका थिए। अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा उनले आठौं नम्बरमा ब्याटिङ गर्दै २६ रन जोडेका थिए।
१८ वर्षीय नरेन नेपालको यू-१९ टोलीका साथै सुदूरपश्चिमको यू-१९ र सिनियर टोलीबाट घरेलु क्रिकेट खेल्छन्।
डोटीका बायाँ हाते अर्थोडक्स बलर नरेनले एनपिएलको डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आफ्ना कप्तान दिपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटालाई धन्यवाद दिए।
उनले भने, ‘दिप्पी दाइ र जगत गुरूलाई धन्यवाद भन्न चाहन्छु। किनभने उहाँहरूले धेरै हुटिङ गर्नु भएको थियो। उहाँहरूको हुटिङले मलाई जोश दियो।’
हिजो युएईबाट नेपाल फर्किएपछि एनपिएलमा प्लेयर अफ दि म्याच बन्ने योजना बनाएको नरेनले सुनाए।
उनले भने, ‘मैले प्लेयर अफ दि म्याच लिन्छु-लिन्छु भनेर हिजो राति नै योजना बनाइसकेको थिएँ। भलै होस् वा नहोस्।’
काठमाडौंविरूद्ध लिएका पाँच विकेटमध्ये नामिबियन ब्याटर इरासमसको विकेट आफूलाई सबैभन्दा मन परेको विकेट भएको उनले बताए।
उनले इरासमसलाई आठौं ओभरको चौथो बलमा एलबिडब्लूको धरापमा पारेका थिए।
‘पाँच विकेटमध्ये इरासमसको विकेट मन परेको विकेट हो। किनभने उसले छक्का हानेलगत्तै विकेट लिन सफल भएँ,’ उनले भने।
इरासमसको विकेट लिएपछि उनले ठूलो सेलिब्रेसन गरेका थिए। पहिलो खेलमा पाँच विकेट लिएपछि ठूलो उत्प्रेरणा मिलेको उनको भनाइ छ।
एसिया कपमा उनले अफगानिस्ताविरूद्ध राम्रो ब्याटिङ गरे पनि तीन खेलमा एक विकेट मात्र लिन सफल भए। उनले श्रीलंकाविरूद्धको पहिलो खेलमा एक विकेट लिँदा बंगलादेश र अफगानिस्तानविरूद्ध विकेट लिन सकेका थिएनन्।
‘यू-१९ एसिया कपमा विकेट आएको थिएन। अफगानिस्तानविरूद्धको अन्तिम खेलमा पनि राम्रो बलिङ भएको थिएन। १२४ रनको लक्ष्य भए पनि नेपालको ब्याटिङ धरासायी भएको थियो। त्यसैले प्रशिक्षक शक्ति गौचनले तिमीले खेल जिताउनु पर्छ भन्नु भएको थियो। त्यहीअनुसार खेलेर नेपालको जितमा योगदान दिएँ,’ उनले नेपालले अफगानिस्तानलाई एसिया कपमा हराएको खेलबारे भने।