रुपन्देही ११ युकेएफसी दार्जिलिङलाई हराउँदै फाल्गुनन्द गोलडकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पाँचथर सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोलडकप प्रतियोगितामा मंगलबार भएको खेलमा रूपन्देही ११ले युकेएफसी दार्जिलिङलाई ३–१ गोल अन्तरले पराजित अन्तिम चारमा स्थान पक्का गरेको हो।
रूपन्देहीको जितमा रजिन सुब्बाले २ तथा सुनिल खड्काले १ गोल गरे। खेलको १९ औँ मिनेटमा गोल गर्दै सुनिलले रूपन्देहीलाई सुरूवाती अग्रता दिलाएका थिए। यस्तै रजिन सुब्बाले खेलको २९ औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर पारे।
खेलको ३५ औं मिनेटमा दार्जिलिङका प्रशान्त गुरूङले गोल गर्दै टिमलाई खेलमा फर्काए। पहिलो हाफ २-१ ले अघि रहेको रुपन्देही दोस्रो हाफमा थप आक्रमक बन्यो।
खेलको ६१ औं मिनेटमा रजिन सुब्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि रूपन्देही ३-१ले अघि बढ्यो। त्यसपछि खेलमा कुनै गोल भएन र खेल रूपन्देहीले ३-१ले जित्यो।
प्रतियोगिताको म्यान अफ दी म्याच रुपन्देही ११ का छिरिङ गुरूङ भए।
प्रतियोगिता अन्तर्गत बुधबार अन्तिम क्वाटरफाइनलमा मोरङ ११ ले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।