अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग क्वालिफायरअन्तर्गत पोल ‘बी’ को खेलमा दिएको ८–० को निर्णयमा सो पोलको क्लबले विरोध गरेको छ।
हुम्ला फुटबल एकेडेमीले खेल बहिष्कार गरेपछि एन्फाले हामी दाजुभाइ एफसीलाई ८–० ले विजयी घोषित गरेको थियो। उक्त निर्णयलाई लिखु भुजी रामेछाप युवा क्लबले ‘पक्षपातपूर्ण र अन्यायपूर्ण’ भन्दै एन्फाको निर्णय पुनरावलोकन गर्न माग गरेको छ।
मंसिर १० गते सातदोबाटो कम्प्लेक्समा भएको खेलमा ७९औं मिनेटसम्म दाजुभाइ एफसीले ५–० को अग्रता लिएको थियो।
रेफ्रीले दिएको विवादास्पद पेनाल्टीको विरोधमा हुम्लाका खेलाडी मैदान छोडेर गएका थिए। त्यसपछि खेल रोकियो र रेफ्रीले दाजुभाइलाई विजयी घोषित गरेका थिए। तर, खेल सकिएको पूरै ६ दिनपछि मात्र एन्फाको लिग संचालन समितिले ‘खेल रोकिँदासम्म हानेको ५ गोल + बहिष्कारको सजायस्वरूप थप ३ गोल’ गरी दाजुभाइलाई ८–० को नतिजा दियो।
यो निर्णयले दाजुभाइ समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्यो।
लिखु भुजी रामेछाप युवा क्लबले भने यो निर्णय नियमविपरीत रहेको जिकिर गरेको छ।
यो निर्णयले समूह ‘बी’ को अंकतालिकामा असर परेको छ। यदि ३–० वा ५–० को नतिजा दिइएको भए लिखु भुजी रामेछाप युवा क्लब नै शीर्ष स्थानमा रहन्थ्यो र नकआउटमा पुग्थ्यो। लिखु भुजीले एन्फासँग तत्काल निर्णय पुनरावलोकन गर्न माग गरेको छ।