युइएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार अन्तिम १६ को दोस्रो लेगमा पिएसजी डिफेन्डिङ च्याम्पियन रियल म्यड्रिडसँग भिड्दै छ।
सान्टियागो बर्नबाउमा भएको पहिलो लेगमा रियलले पिएसजीमाथि ३-१ को जित हाँशिल गरेको थियो।
पिएसजी आज आफ्ना स्टार फरवार्ड नेइमार बिनै मैदानमा उत्रिने भएको छ। अघिल्लो साता मार्से विरुद्धको खेलमा खुट्टामा चोट बोकेका नेइमार आजको खेलमा हुनेछैनन्। नेइमारको ठाउँमा आज अर्जेन्टिनी वेंगर एन्जल डि मारियाले खेल्नेछन्। एडिन्सन काभानी र किलियन बाप्पेसहितको पिएसजीले आज घरेलु मैदानमा मड्रिडविरूद्ध जित निकाल्नै पर्ने हुन्छ।
पछिल्लो समय लयमा फर्किएको रियल म्याड्रिडले सिजनको खराब सुरुवात गरे पनि पिएसजीमाथि जित निकाल्दै आफ्नो दाबेदारी देखाइसकेको छ।
घरेलु लिगको अघिल्लो खेलमा गेटाफेलाई ३-१ ले हराउँदा रियलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए। रियलका समर्थकहरुले पिएसजीको घरेलु मैदानमा पनि रोनाल्डोबाट यस्तै प्रदर्शनको अपेक्षा गरिरहेका छन्।
घरेलु लिगमा लगभग उपाधि नजिक रहेको पिएसजी च्याम्पियन्स लिगमा भने कमजोर देखिएको छ । रियल भने ला लिगामा तेस्रो स्थानमा छ, साबिक विजेता रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछि रहेको छ ।
कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरीएको रियल मड्रिडको यो सिजन उपाधि आश अब च्याम्पियन्स लिग फुटबलमा मात्रै अडिएको छ ।
रियलले पहिलो लेग ३-१ ले जितेको थियो जसमा पिएसजीले एक महत्त्वपूर्ण अवे गोल हात पारेको थियो। यद्दपी पिएसजीले आज २-० को जित दर्ता गर्न सक्यो भने पिएसजी नै क्वाटरफाइनलमा पुग्नेछ।
पिएसजीले नकआउट चरणमा यसअघि दुई पटकमात्रै रियल मड्रिडलाई हराएको छ । त्यो पनि सन् १९९२–९३ र १९९३–९४ को सिजनमा । रियल मड्रिड पिएसजीसँग पछिल्ला तीन खेलमा अपराजित छ, दुई खेलमा जित र एकमा बराबरी ।
घरेलु मैदानमा भएका खेलमा भने पिएसजीको इतिहास राम्रो छ । युरोपियन प्रतिस्पर्धामा पिएसजीले अहिलेसम्म घरेलु मैदानमा खेलेका ४६ खेलमा मात्रै एउटामा मात्रै हार बेहोरेको छ । ३० खेलमा विजयी भएको पिएसजी १५ खेलमा बराबरीमा रोकिएको छ । पिएसजी हारेको भने सन् २०१५ को अप्रिलमा बार्सिलोनासँग ३–१ ले हो ।
च्याम्पियन्स लिग, रियल मड्रिड र प्रशिक्षक जिदानलाई जोडेर हेर्दा स्पेनिस क्लब निकै बलियो देखिन्छ । जिदानको प्रशिक्षणमा च्याम्पियन्स लिगका १५ नकआउट खेलमा रियल ११ खेलमा विजयी भएको छ ।
दुई खेलमा बराबरी भएको छ भने दुईमा पराजित पनि । तर त्यो भन्दा बलियो इतिहास रियल मड्रिड पछिल्ला सात सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
तर पिएसजी भने पछिल्ला पाँच सिजनमा क्वाटरफाइनल भन्दा अघि जान सकेको छैन । उसले पछिल्लो पटक सन् १९९४–९५ को सिजनमा सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसमा एसी मिलानसँग पराजित भयो।
यी दुई बीचको पछिल्लो ६ खेलमा रियलको ४ जित रहेको छ भने पिएसजीको १ जित छ ।
रियल मड्रिड र पिएसजी यसअघि ७ पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका छन् । त्यसमा रियल मड्रिडले तीन तथा पिएसजीले दुई खेल जितेको छ । दुई खेलमा बराबरी भएको छ ।
तर गोलका आधारमा रियल मड्रिड अघि छ । पिएसजीले ७ खेलमा ८ गोल गरेको छ भने रियल मड्रिडले ९ गोल गरेको छ।
खेल आज राति साढे १ बजे सुरू हुनेछ।