बुटवल, विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै थ्री स्टार क्लबले २० औं तिलोत्तमा गोल्डकपको उपाधि उचालेको छ।
घरेलु फुटबलमा लामो समयपछि फर्किएको थ्री स्टारले पुनरागमन पछि तेस्रो उपाधि जित्ने क्रममा शनिबार पुलिसको चुनौती २-० ले पन्छाएको छ।
यसअघि थ्री स्टारले इटहरी गोल्डकप र धरानको बुढासुब्बा गोल्ड कप जितेको थियो। पोखरामा सम्पन्न आहा-रारा गोल्ड कपमा पुलिससँग फाइनलमा पराजित थ्री स्टारको त्यसको बदलासमेत लियो।
गोल गर्ने केही राम्रा अवसरहरू दुबै टोलीले गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा केही आक्रमक देखिएको थ्री स्टारले गोल गर्ने केही अवसरहरू श्रृजनासमेत गर्यो।
खेलको ६४ औं मिनेटमा सुनिल बलको कर्नरमा निराजन खड्काले गरेको हेडिङ क्रसबारको केही माथिबाट बाहिरिएको थियो। खेलको ६६ औं मिनेटमा रविन श्रेष्ठले आत्मघाती गोल उपहार दिँदा थ्रिस्टारले अग्रता लियो।
विमल घर्ति मगरको क्रसलाई रविनले चेस्ट गर्दै पुलिसका किपर तर्फ दिए पनि पुलिसका गोल किपरबीचको तालमेलका कमीको कारण पुलिस खेलमा पछि पर्यो ।
पुलिसले ७६ औं मिनेटमा बराबरी गर्ने राम्रो अवसर खेर फाल्यो। तेज तामाङको कडा प्रहार थ्री स्टारका डिफेन्डरलाई लागेर फर्किएपछि पाएको अवसरमा रवि पासवानले गोल गर्न सकेनन्।
थ्री स्टारले ७९औं मिनेटमा अग्रता दोब्बर गर्दै जित सुनिश्चित गर्यो। मिडफिल्डर सुनिलले प्रहार गरेको कर्नरमा हेड गर्दै कप्तान निराजन खड्काले टोलीको अग्रता दोब्बर बनाए।
पुलिसको कमजोर डिफेन्सको फाईदा उठाउँदै थ्रिस्टारले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।
जिल्ला फुटवल संघको आयोजनामा फागुन २४ गतेबाट सुरू भएको प्रतियोगिताको उपाधि जितेको थ्रिस्टारले नगद सात लाख ७७ हाजर ७ सय ७७ रुपैया हात पार्यो।
त्यसैगरि उपबिजेता बनेको नेपाल पुलिसले चार लाख ४४ हाजर ४ सय ४४ रुपैयामा चित्त बुझायो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले उक्त पुरस्कार बितरण गरेका थिए ।
[caption id="attachment_142283" align="alignnone" width="1200"]
थ्री स्टारलाई प्रतियोगिता जिताउने क्रममा फाइनलमा पुलिस विरुद्ध २-० को जितमा गोल गरेका कप्तान निराजन खड्का प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएपछि स्कुटरसँग। तस्बिरः भगवती[/caption]
थ्री स्टारलाई प्रतियोगिता जिताउने क्रममा फाइनलमा पुलिस विरुद्ध २-० को जितमा गोल गरेका कप्तान निराजन खड्का प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए।
उनले १ थान स्कुटर प्राप्त गरे। करिब १ महिना अघि धरानको बुढासुब्बा गोल्डकपमा पुलिसलाई नै फाइनलमा पराजित गर्दा पनि निराजन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेका थिए।
अन्य विधामा उत्कृष्ट खेलाडीलाई जनही २२ हजार २ सय २२ रूपैया नगद पुरस्कार सहित ट्रफि प्रदान गरिएको थियो
- उत्कृष्ट गोलकिपर – एलेन न्यौपाने (थ्री स्टार)
- उत्कृष्ट डिफेन्डर –पूर्ण बहादुर श्रेष्ठ (लाली रुपन्देही)
- उत्कृष्ट मिडफिल्डर – भोला सिलवाल (पुलिस)
- उत्कृष्ट फरवार्ड – रेजिन सुब्बा (पुलिस)
- उत्कृष्ट प्रशिक्षक – मेघराज केसी (थ्री स्टार)