शनिबारदेखि सुरू हुने झापा गोल्डकप फुटवलको उद्धघाटन खेलमा आयोजक झापा ११ ले सहारा क्लब पोखराको सामना गर्नेछ।
विर्तावजारस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता फागुन २७ गतेसम्म हुने आयोजक समितिले जानकारी दिएको छ।
प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित मुलुकका ९ र हङकङको एउटा टोलीले सहभागिता जनाउने झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले सेतोपाटीलाई जानकारी दिए।
गिरीका अनुसार सहभागी टिमहरूमा आयोजक झापा–११, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसले प्रतियोगितामा सहभागीता जनाउने छन्।
यस्तै मनाङ मर्स्याङदी क्लब, थ्री स्टार, मोरङ–११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकेडेमी सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार तथा उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पाउनेछ।
यो वर्षको प्रतियोगितामा मस्ट भ्यालुएवल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिने भएको छ। प्रतियोगिताका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षक मध्येका उत्कृष्ठले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ हजार रुपैयाँ पाउनेछन्।
अघिल्लो संस्करणमा आर्मीले आयोजक झापा–११ लाई सडनडेथमा ८–७ ले हराएर च्याम्पियन बनेको थियो।
यस्तो छ खेल तालिका
तयारी सकियो
गोल्डकपका लागि प्रचारप्रसार, मैदान, प्याराफिट निर्माण, विभिन्न संघसंस्था, जनप्रतिनिधिसँगको छलफललगायत कार्यहरू सकिएको आयोजक झापा गोल्डकपका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए।
प्रतियोगिताका लागि १ करोड खर्च हुने अनुमान गरेको गिरीले बताए।
यसका लागि ८ हजार क्षमताको प्यारापिट निर्माण गरिएको उनले बताए । मैदानलाई यो वर्ष पनि आकर्षक र खेल्नका लागि उत्कृष्ट बनाउने कार्य गरेको गिरीले बताए । दर्शकका लागि यो वर्ष अनलाइन टिकट सेवा उपलब्ध गराइनेछ। करिब ६० हजार दर्शकले प्रतियोगितामा अवलोकन गर्ने आयोजक समितिको अनुमान छ ।
गोल्डकपका लागि पाँच दर्जन बढी कर्पोरेट हाउस तथा संघसंस्थाले आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गरेको गिरीले बताए।
गोल्डकप समितिले झापा ११ का १० जना खेलाडीलाई अनुबन्धनसमेत गरेको छ। समितिले झापा ११ का लागि प्रशिक्षकमा प्रवेश कटुवाल र युगलकिशोर राईलाई पनि अनुबन्धन गरेको गिरिले जानकारी दिए।