आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रवार भएको पहिलो खेलमा नेपाल प्रहरीको महिला फूटबल टिमले सहज जित निकालेको छ।
घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा प्रदेश नं. ५ को महिला फुटबल टिममाथि आधा दर्जन गोल गर्दै नेपाल पुलिस क्वलले प्रतियोगितामा दोस्रो जित निकालेको हो।
खेलमा पुलिस क्लवकी निरू थापाले ह्याट्रिक गरिन्। अमृता जैशीले २ गोल गर्दा निर्मला विकले एक गोल थपिन्।
खेलको सुरूदेखि नै दवाफ सिर्जना गरेको प्रहरीले खेलमा नवौ मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएकी थिइन्।
राष्ट्रिय महिला फुटबल टिमकी खेलाडीसमेत रहेकी थापाको गोलसँगै अग्रता लिएको खेलमा प्रहरीको लागि २४औं मिनेटमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर पारिन्।
दोस्रो हाफको १३ औं मिनेटमा निरू थापाले दोश्रो र ३८ औं मिनेटमा तेश्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन्।
पुलिसको जितका लागि २८ औं मिनेट र ३० औँ मिनेटमा जर्सी नं. ५ की खेलाडी अमृता जैशीले २ गोल गरेकी थिइन्।
शुक्रबारको खेलमा प्रदेश नं. ५ को महिला फुटवल टिमका खेलाडी सोचे अनुरुप चल्न नसक्दा दोश्रो खेलमा पनि पराजय बेहोरेका छन्।
यसअघि प्रदेश नं. ५ टिमले विहीवारको पहिलो खेलमा प्रदेश नं. २ को टिमसँग हार बेहोरेको थियो।
११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि दश वटा महिला फुटवल टिमको सहभागिता छ।
प्रतियोगिता अन्तर्गतका हाल दाङ र कपिलवस्तुमा लिग चरणका खेलहरु भइरहेका छन । सेमिफाइनल र फाइनल चरणका खेलहरु भने तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा हुने छन्।