सहिद स्मारक बी डिभिजन लिग गत २०७८ सालपछि सञ्चालन हुन सकेको छैन।
दुई वर्षअघि आर्थिक कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले पटक-पटक लिग सारेको थियो। गत वर्षदेखि भने एन्फा र क्लबहरूबीच विवाद हुँदा लिग हुन सकेन।
बी डिभिजनमा आबद्ध १४ मध्ये १० क्लबले भने लिग गर्नुअघि आफूहरूको माग पूरा गर्नु पर्ने बताउँदै आएका छन्। त्यसैले उनीहरू एन्फाले बोलाएको बैठकमा समेत अनुपस्थित हुँदै आएका छन्।
लामो समयसम्म एन्फा र बी डिभिजन क्लबबीच सहमति हुन नसक्दा लिगको मिति घोषणा हुन सकेको थिएन।
यसबीच एन्फाले मंसिर पहिलो साता उपलब्ध क्लबबीच छलफल गर्दै लिगको कार्यतालिका समेत प्रकासित गर्यो। उक्त छलफलमा बी डिभिजन लिगका अधिकांस क्लबको उपस्थिति थिएन।
एन्फाले कार्यतालिका प्रकासन गरेसँगै बी डिभिजन क्लबहरूले सोमबार विरोध गर्दै विज्ञप्ति निकालेका छन्।
विरोध गर्ने क्लबहरूमा आरसिटी, मध्यपुर युथ, सरस्वती युवा, ब्रिगेड ब्वाइज, नयाँ बस्ती युथ, वीरगञ्ज युनाइटेड, टुसाल युथ, ब्वाइज युनियन, च्यासल युथ र झापा फुटबल क्लब रहेका छन्।
बाँसबरी क्लब, श्री कुमारी क्लब, श्री भगवती क्लब र प्लानिङ ब्वाइज क्लब गरी चार क्लबले भने विरोध गरेका छैनन्।
क्लबहरूले २०७८ सालको तयारी बापतको बक्यौता रकम अहिलेसम्म उपलब्ध हुन नसकेकाले आफूहरू बैठकमा उपस्थित नभएको बताएका छन्।
क्लबहरुले पुरानो बाँकी पैसा दिएर मात्र बैठकमा उपस्थित हुनेभन्दा पनि एन्फाले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छ्न।
यद्यपी एन्फाले बी डिभिजनका लागि मंगलबार राष्ट्रिय पत्रिकामा सूचना प्रकासित गर्दै बाँकी बक्यौता रकम बुझ्न पनि आग्रह गरेको छ।
यसले क्लब र एन्फाबीच थप विवाद चर्कने देखिएको छ भने फेरि बी डिभिजन लिग सर्न सक्ने खतरा बढेको छ।
यदि एन्फाले आफ्नो निर्णयमा अघि बढ्दै लिग गरेको खण्डमा क्लबहरुलाई कारबाही समेत हुन सक्नेछ। त्यसले बी डिभिजन क्लबहरु अदातल जाने पक्का छ।