आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबको महिला फुटबल टिम प्रवेश गरेको छ।
दाङको बेलझुण्डी रंगशालामा मंगलबार भएको खेलमा प्रदेश ३ को महिला फुटबल टिमलाई शून्यकाविरूद्ध ६ गोलले पराजित गर्दै त्रिभुवन आर्मीको विभागीय महिला फुटबल टिम फाइनलमा पुगेको हो।
प्रदेश नं. ३ को महिला फुटबल टिमसँग भएको खेलको १० औं मिनेटमा आर्मीकी जर्सी नं. १५ की खेलाडी बिमला चौधरीले पहिलो गोल गरेकी थिइन्।
बिमलाको गोलसँगै अग्रता बढाएको आर्मीको महिला टिमकी जर्सी नं. ९ की खेलाडी शर्मिला थापाले पहिलो हाफको २७ औं मिनेटमा दोस्रो र ४० औं मिनेटमा तेस्रो गोल गरेकी हुन्।
पहिलो हाफको खेलमा ३–० को अग्रता लिएको आर्मीले दोस्रो हाफको खेलमा पनि ३ गोल गर्न सफल भयो।
दोस्रो हाफको खेल सुरू भएको १५ औं र २२ औं मिनेटमा आर्मीकी खेलाडी जर्सी नं. १० की कृष्णा खत्रीले एक्लै २ गोल गरिन्।
त्यसमा जर्सी नं. २३ की इन्दिरा राईले ३५ औं मिनेटमा थप १ गोल थप्दै छैठौं गोल पुर्याएकी थिइन्।
उक्त खेलमा प्रदेश नं. ३ को महिला फुटबलप्रति हावी देखिएको विभागीय आर्मीका खेलाडी शर्मिला थापा र बिमला खत्रीले समान २ र २ गोल गरेका हुन्।
उता बाँकेमा भएको पुरुष फुटबलमा पनि त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
प्रदेश– ५ लाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो।
प्रदेश नं. ५ का दीपेन्द्रसिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता लिएको थियो। २० औं मिनेटमा आर्मीका भरत खवासलाई रोक्ने क्रममा ठकुरीले आत्मघाती गोल गर्न पुगेका थिए।
आर्मीको लागि ३१ औं मिनेटमा दीपकुमार लामाले अर्को गोल थपेका थिए। तर लगत्तै ३३ औं मिनेटमा ५ नं. प्रदेशका विनोद केसीले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खाता खोलेका थिए। त्यसलगत्तै फेरि ३५ औं मिनेटमा ५ नं. प्रदेशका विवेक पुनलाई डिएरियाभित्र आर्मीका खेलाडीले फल गरे। त्यसवापत पाएको दोस्रो पेनाल्टीलाई दाङ तुलसीपुरका खेलाडी विनोद केसीले गोलमा रूपान्तरण गरिदिए।
त्यसपछि दुवै टिमवाट कुनै गोल नुहँदा खेल बराबरीमा पुगेको थियो। अनि खेल टाइब्रेकरमा पुगेको थियो । तर टाइब्रेकरमा आर्मीका ५ जनामध्ये ३ जनाले गोल हाने।
नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे भने दीपक गुरुङ र जितेन्द्र कार्कीले गोल गर्न चुके । दुर्भाग्य ५ नं. प्रदेशबाट कृष्ण रानाभाटले मात्रै गोल गर्न सके। टिमका लागि दीपेन्द्रसिंह ठकुरी, चेतन थारु र विवेक पुनले गोल गर्न सकेनन्। त्यही भएर आर्मीले खेल जित्दै फाइनलको यात्रा तय गरेको हो ।
बाँकेमा अहिले बेलुका ४ बजे अर्को सेमिफाइनल नेपाल प्रहरी र एपिएफका बीच भिडन्त हुँदैछ भने दाङमा पनि नेपाल पुलिस र एपिएफको बीचमा हुँदैछ ।