आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।
बुधबार बेलुका दाङ तुलसीपुरस्थित बेलुझुण्डी रंगशालामा भएको फाइनलमा नेपाल आर्मीलाई ट्राईब्रेकरमा हराउँदै उपाधि उचालेको हो।
निर्धारित अवधिमा दुबै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो।
सुरूमै आर्मीकी निशा बोहराले गोल गर्न चुकिन्। तर, एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरिन्।
एपिएफकी किपरले एक गोल रोक्न सफल भएकी थिइन् भने आर्मीकी किप्परले पनि एक गोल रोकेकी थिइन्।
आर्मीको तर्फबाट अर्की एक खेलाडीको प्रहार गरेको गोलपनि पोलमा लागेर बाहिरएको थियो। त्यस्तै एफिएफकी अनिता बस्नेत पनि गोल गर्न चुकिन्। ट्राइबेकरमा एपिएफले चार गोल गरेको थियो भने आर्मी तीन गोलमा सीमित भएको थियो ।
नेपाल पुलिस तेस्रो
खेलमा नेपाल पुलिस तेस्रो भएको छ। बुधबार बिहान बेलझुण्डी रंगशालामा भएको खेलमा प्रदेश ३ नं. र पुलिस निर्धारित समयमा बराबरी खेलेका थिए।
त्यसपछि खेल ट्राईब्रेकरमा गएको थियो । ट्राईब्रेकरमा पनि समान गोल भएपछि शडनडेथका आधारमा पुलिसले ३ नं. प्रदेशलाई जितेको हो।