ब्राजिलका महान् फुटबल खेलाडी पेलेको क्यान्सर बढेको अस्पतालले जनाएको छ। ८२ वर्षीय पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर बढेको बताएको हो।
तीन पटकको विश्वकप विजेता पेले तीन साताभन्दा बढी समयदेखि अस्पतालमा छन्। उनकी छोरीले सामाजिक सञ्जालमा क्रिसमस समय अस्पतालमै बिताउने बताएकी छन्।
अस्पताल इजरायलिटा अल्बर्ट आइन्स्टाइनले पेलेको ‘क्यान्सर रोग बढेको तथा मृगौला र मुटुसँग सम्बन्धित थप हेरचाह’ चाहिने बताएको छ।
सेप्टेम्बर २०२१ मा पेलेको पेटबाट ट्युमर हटाइएको थियो र त्यसपछि नियमित उपचार भइरहेको थियो।
पेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए। आफ्नो देशलाई १९५८, १९६२ र १९७० मा विश्वकप जिताउन उनले मद्दत गरेका थिए।
ब्राजिलका खेलाडीहरूले २०२२ को विश्वकपमा दक्षिण कोरियामाथि अन्तिम १६ मा जित हासिल गरेपछि पेलेलाई उनको नाम र तस्विरसहितको ब्यानर बोकेर स्वास्थ्यलाभको कामना गरेका थिए।