इटालीको फुटबल महासंघले युभेन्टसलाई कारवाही गरेको छ।
ट्रान्सफर बजारमा खेलाडी खरिदविक्री तथा अन्य विषयको आर्थिक प्रतिवेदनमा हिसाब सही नदेखाएको भन्दै कारबाहीस्वरूप युभेन्टसलाई लिगमा १५ अंक घटाउनुका साथै पूर्व पदाधिकारीलाई फरक फरक प्रतिबन्ध लगाएको छ।
गत अप्रिल २०२२ मा युभेन्टस सहित १० क्लबमाथि छानविन गर्दै कुनै समस्या नरहेको निर्णय आएको थियो। तर युभेन्टस माथि पुन: छानविन गर्दा क्लबको गल्ती देखिएको महासंघले जनाएको छ।
क्लबले तत्कालीन अध्यक्ष आन्द्रे एग्नेलीसहित ११ जनालाई ८ महिनादेखि ३० महिनासम्म प्रतिबन्ध लगाएको छ।
एग्नेलीलाई २४ महिना र इंल्याण्डको प्रिमियर लिग क्लब टोटेनहम हटस्परका प्रबन्ध निर्देशक, पूर्व खेलकुद निर्देशक, फाबियो पाराटिसीलाई ३० महिनाको प्रतिबन्ध लगाएको हो।
हाललाई यो प्रतिबन्ध इटालीको फुटबलमा मात्र लागु हुनेछ। तर महासंघले युइएफएए र फिफालाई पनि प्रतिबन्धको दायरा बढाउन अनुरोध गरेको छ।
महासंघका अनुसार क्लबले पछिल्ला सिजनमा थुप्रै खेलाडी अनुबन्धित गर्दा प्रतिवेदनमा हिसाब देखाउने क्रममा प्रक्रिया पुर्याएको थिएन।
यो सिजन २० खेल खेल्न बाँकी हुँदा युभेन्ट्स सिरी ए मा ३७ अंकका साथ तेस्रो स्थानमा थियो।
शीर्ष स्थानमा रहेको नेपोलीभन्दा १० अंक पछि रहेको टोली शीर्ष २ मा पर्न प्रयासरत थियो। यो कारवाहीसँगै युभेन्टस अंक तालिकामा तेस्रो स्थानबाट दशौं स्थानमा झरेको छ। यो सँगै क्लब अब च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना छ।
यसैबीच क्लबले भने यसप्रति असहमति जनाउँदै अपिल गर्ने जनाएको छ।
‘हामी यसलाई लाखौं फ्यानहरूका लागि पनि घोर अन्याय भएको ठान्छौं, अदालतमा यसबारे छिट्टै समाधान हुनेछ,’ क्लबका वकिलहरूले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।