तेश्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ।
सन्दकपुर गाउँपालिका-३ स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३-२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो।
खेलमा सुरुवाती अग्रता फिक्कलले लिएको थियो। १२ औ मिनेटमा नयन प्रधानले सुरुवाती गोल गरेका थिए। २३ औ मिनेटमा शौरभ कार्कीले हेडर मार्फत अग्रता दोब्बर बनाए।
खेलको ५२ औ मिनेटमा बुट्टाबारीका कप्तान रोमन खवासले पेनाल्टी मार्फत अग्रता कम पारे। ५८ औ मिनेटमा शेखर राईले खेल ३-१ बनाए।
६६ औ मिनेटमा रोमनले पेनाल्टी मार्फत गोल थपेपनि उपाधि जित्न पर्याप्त भएन्।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता फिक्कलका शेखर राई घोषित भए। उत्कृष्ट डिफेन्डर आयुष क्षेत्री, उत्कृष्ट गोलरक्षक सर्जन लिम्बु घोषित भए। उनीहरुले जनही ४ हजार प्राप्त गरे।
बिजेता बनेको फिक्कलले १ लाख ५१ हजार र उपविजेता बुट्टाबारीले ८१ हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको उदियमान खेलाडी देउराली स्र्पोटिङ क्लबका निशान राई घोषित भए। देउराली स्र्पोटिङ क्लबको आयोजना र सन्दकपुर गाउँपालिकाको संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ र ललितपुरका ८ टोलीको सहभागिता रहेको थियो।
अइन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगितामा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगिताको बिजेता, उपविजेता तथा व्यक्तिगत विधाका विजेतालाई प्रमुख अतिथि बस्नेत, गाउँपालिका अध्यक्ष तुला बहादुर गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली लगायतले पुरस्कार वितरण गरे। चैत्र २४ गतेबाट प्रतियोगिता सुरु भएको थियो।