नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजनको क्लब पेर्सिक केडिरीसँगको सम्झौता थप एक सिजन लम्बाएका छन्।
रोहितले पेर्सिकसँगको सम्झौता अर्को सिजनका लागि पनि थप गरेका हुन्। उनी यो सिजन पेर्सिक आबद्ध भएका थिए।
इन्डोनेसियाको लिग वानमा यो सिजन पेर्सिकले सुरुवातमा खराब प्रदर्शन गरे पनि पछिल्ला ९ खेलमा जित निकालेको थियो। सिजनमा पेर्सिक १८ क्लब मध्ये एघारौं भयो।
सिजनमा रोहितले पेर्सिकबाट ३१ खेल खेल्दा २ गोल गरे।
सन् २०१२ देखि रोहितले इन्डोनेसियामा खेलिरहेका छन्। पेर्सिकमा आबद्ध हुनुअघि उनी पेर्सिजा जार्कातामा आबद्ध थिए। पेर्सिजाबाट उनले लिगको उपाधि जित्नुका साथै लिगकै सर्वोत्कृष्ट अवार्ड समेत हात पारेका थिए।
उनले पेर्सिजाबाट सन् २०१४-१५ मा पहिलोपटक खेल्दा दोस्रोपटक २०१७ देखि २०२२ सम्म आबद्ध भए। उनले पेर्सिजाबाट १४९ खेलमा १३ गोल गरे।
सन् २०१० देखि २०१२ सम्म भारतको आइ लिग क्लब हलबाट खेलेका उनी २०१२ मा इन्डोनेसियन क्लब पेकानबारुमा आबद्ध भएका थिए।
नेपाली टिममा सन् २००९ डेब्यू गरेका उनले ७७ खेल खेलिसकेका छन्।