केलियन एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले एन्गर्सलाई पराजित गरेको छ।
लिग वान अन्तर्गत गएराती भएको खेलमा लिग लिडर पिएसजीले अंक तालिकाको पुछारमा रहेका एन्गर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
पिएसजीको जितमा दुबै गोल फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गरेका हुन्।
उनले खेलको नवौं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए।
लगत्तै २६ औं मिनेटमा थप एक गोल गर्दै पहिलो हाफअघि नै टोलीको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको अन्त्यतिर एन्गर्सले सान्त्वना गोल फर्काएको थियो। एन्गर्सका लागि ८७ औं मिनेटमा सादा थिओबले गोल गरेपनि एन्गर्सको हार टरेन।
जितसँगै अंकतालिकाको शीर्ष स्थानमा रहेको पिएसजीले ३२ खेलबाट ७५ अंक बनाएको छ।
३१ खेल खेलको मर्सेली ६४ अंकसहित दोस्रो स्थानमा छ।